राजनीति

दरबार हत्याकाण्डबारे अनौठो टिप्पणी, गिरिजा यसकारण धम्क्याउथे भारतलाई !

काठमाण्डौ । नेपालमा भारतीय प्रभुत्व र षडयन्त्रका बारेमा निकै कुराहरु बाहिर आइरहेका हुन्छन् । चाहे त्यो एमाले नेता मदन भण्डारीको हत्याको विषयमा होस् वा दरबार हत्याकाण्डको विषयमा होस् । सबै दुर्घटनाहरुमा भारत जोडिएकै हुन्छ तर वास्तविकता पत्ता लाग्न सक्दैन । नेपालका नेताहरु समेत त्यसको पिछलग्गु लागेका कुराहरु बाहिर आइरहन्छन् ।

यही सिलसिलामा २०५८ साल जेठ १९ गते घटेको दरबार हत्याकाण्डबारे अहिले पनि राजतन्त्रको पक्षमा अहिले पनि वकालत गर्दै आएका एकजना लेखकले एउटा नयाँ रहस्यबारे टिप्पणी गरेका छन् । उनले दरबार हत्याकाण्डबारे भारत, तत्कालीन युवराज दिपेन्द्रकी प्रेमिका भनिएकी देवयाणी र तत्कालीन रानी ऐश्वर्यसँग जोडेर अनौठो टिप्पणी गरेका छन् । लेखक दिर्घराज प्रसाईले यो घटनामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र एमाले नेता केपी ओलीको बोलीबारेमा समेत टिप्पणी गर्न भ्याएका छन् । यस्तो छ उनले गरेको टिप्पणीः

२०६३ सालपछि माओवादीका प्रचण्डको राष्ट्रपति बन्ने लोभमा परेर गिरिजाले नेपाललाई धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता घोषित गराए । प्रधानमन्त्रीबाट हटेपछि गिरिजाले ‘राजदरबार हत्याकाण्ड बारेको ग्य्राण्ड डिजाइन खोलिदिन्छु’ भन्दै हिड्न थाले । यसको मूल रहस्य बुझ्न नसकेपछि एक ठाउँमा गिरिजासँग भेट्ने अवसर प्राप्त हुँदा मैले गिरिजालाई सोधेको थिएँ– ‘ग्य्राण्ड डिजाइन्’ कस्को बारेमा लक्षीत छ‘ भनेर सोध्दा गिरिजाले ‘भारतप्रति लक्षीत छ’ भने ।

यसको कारण रहेछ गिरिजालाई अगाडि बढ्न नदिने र पछिका दिनमा माओवादीका प्रचण्डले गिरिजालाई राष्ट्रपतिको ललीपप दिदा भारतले नमानेको हुँदा ‘दरबार हत्याकाण्ड भारतले गराएको हो’ भन्ने कुराको ‘ग्य्राण्ड डिजायन्’ खोलिदिने धमास दिदा रहेछन् ।

दरबार हत्याकाण्डको बेला भारतीय गुप्तचर संस्था ‘रअ’ का नेपाल प्रमुख पी. हर्मीज थिए । पशुपति शम्सेरकी छारी देवयानीले युवराज दीपेन्द्रसँग प्रेमबन्दनमा फसेपछि रानी ऐश्वर्यले केही नलागेर देवयानीलाई रखौटी राख्नसक्ने सल्लाह दीपेन्द्रलाई दिएको कुरामा पशुपति शम्सेरकी स्वास्नी रिसाएर दीपेन्द्रको मामली घरमा आक्रोस पोखेको कुरा ‘रअ’ का पी. हर्मीजलाई सबै कुराको जानकारी लिई त्यसघटनामा सक्रिय भएर देवयानीकी आमा मार्फत ‘सबै राजा, रानी मारेर राजा रानी हुन सकिन्छ भन्ने कुरा देवयानीले दीपेन्द्रलाई उप्साएको कारणबाट दरबार हत्याकाण्ड भारतले गराएको भन्ने कुरा गिरिजाले नबुझ्ने कुरै भएन । त्यसैले गिरिजाको ग्य्राण्ड डिजाइन् भन्ने कुरासँग भारतीय राजदूत तर्सेर गिरिजालाई भेट्न जादा पनि नमेटेको कारण त्यही रहेछ ।

दरबार हत्याकाण्डको लगत्तै खड्ग ओलीको घरबाट निस्कियो–‘ दरबार हत्याकाण्डमा दीपेन्द्रको मुखुण्डो लगाएको मान्छेबाट भएको हो ।’ खड्ग ओलीले आफै भनेका हुन् कि कसैको इशारामा हो त्यो उनै जानुन् । प्याच्च बोल्ने मानिसहरुकै कारणले भ्रमहरु सिर्जना हुन्छन् । तर माओवादी नेता प्रचण्डले प्रधानमन्त्रीबाट हटेपछि बानेश्वरको भाषणमा कुरा नलुकाई बोलेका थिए– ‘दरबार हत्याकाण्ड भारतले गराएको हो ।’

यो देश बचाउन अव राज्यका सबै शक्ति–स्रोत, प्रमुख राज्यका अङ्गहरु– अदालत, नेपाली सेना, प्रहरी, प्रशासकीय व्यवस्था, देशभक्तहरु पार्टीभित्र र बाहिर जो जहाँ छौं राजा ज्ञानेन्द्रसँग सहमति कायम गरेर दृढताका साथ देश डुब्नबाट बचाऔं ।  –दीर्घराज प्रसाई