राजनीति

संकटमा यसरी एक हुन्छन् नेताहरु, प्रकाशको निधनलगत्तै ओलीले दाहाललाई लेखे यस्तो पत्र !

काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल यसबेला पुत्रशोकमा रहेका छन् । आइतबार एक्कासि छोरा प्रकाशको ह्रदयघातका कारण भएको निधनपछि दाहालको परिवारनै शोकमा रहेको छ । शोककै बीचमा सोमबार दाहाल निवास लाजिम्पाटमा उनी र उनको परिवारलार्ई समवेदन दिनेहरुको घुँइचो लाग्यो । सोही क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरुले दाहाल र उनको परिवारसँग भेटघाट गरी समवेदना समेत दिएका थिए ।

शोकको घडीमा मानवीय समवेदना हुनु स्वभाविक हो नै तर नेताहरुको यो भेटघाटले नेपाली राजनीतिमा संकट पर्दा एक हुने संस्कार विकास भएको भन्दै नेताहरुको प्रशंसा गरिएको छ । त्यतिमात्र होइन, दाहाल पुत्र प्रकाशको निधनलगत्तै एमाले अध्यक्ष केपी ओलीले भने पुष्पकमल दाहाललाई पत्र नै लेखेर समवेदना दिएको खबर बाहिर आएको छ । अध्यक्ष ओलीले प्रकाशको निधनलगत्तै प्रचण्ड र उनको परिवारलाई यस्तो पत्र लेखेका थिए

प्रिय कमरेड,

हामी दुवै आसन्न प्रतिनिसिभा र प्रदेशसभा निर्वाचनमा प्रतिस्पर्धामा रहेका वामपक्षीय–लोकतान्त्रिक गठबन्धनका हाम्रा उम्मेदवारको प्रचार कार्यक्रममा प्रदेश नं. १ मा रहेकै वेला तपाईंको सुपत्र तथा तपाईंको पार्टीका केन्द्रीय सदस्य कमरेड साकार दाहाल ‘प्रकाश’को आकस्मिक एवं असामयिक निधनको खबरले म स्वयं भावविह्वल भएको छुु । एकातिर वामपक्षीय–लोकतान्त्रिक गठबन्धनको एकजना मुख्य नेताको हैसियतमा तपाईंमा निहित निर्वाचन परिचालनको चुनौतीपूर्ण नेतृत्वको जिम्मेवारी र अर्काेतिर पुत्रशोकको अकल्पनीय घटनाले तपाईंमाथि पर्न गएको पीडा म अनुभूति गरिरहेको छु ।

कमरेड प्रकाश, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुत्र मात्रै नभई अध्यक्ष प्रचण्डको सचिवालयका मुख्य व्यक्तिसमेत भएकाले माओवादी केन्द्रका अध्यक्षको सचिवालय सञ्चालनमा रहेको भूमिका र उहाँको देहावसानले पारेको खाडल अपूरणीय रहेको मैले महसुस गरेको छु ।

द्वन्द्वकालमा समेत तत्कालीन नेकपा (माओवादी) पार्टीको हेडक्वार्टर र त्यसका सुप्रिम कमान्डर अध्यक्ष प्रचण्डको सुरक्षा, सहयोग र सचिवालय सञ्चालनमा रहेको उहाँको भूमिका अविस्मरणीय छ नै । यो चुनौतीपूर्ण घडीमा उहाँको निधनबाट सिर्जना भएको रिक्तता र पुत्र वियोगको पीडा दुवै विशेषगरी तपाईंले सामना गर्नुपर्ने कष्टपूर्ण कार्यको रूपमा मैले लिएको छु ।

यस शोकपूर्ण घडीमा म, नेकपा (एमाले) र आफू स्वयंको तर्फबाट तपाईं र तपाईंको सिंगो शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु । कमरेड प्रकाशको निधनबाट नेकपा–माओवादी केन्द्र)मा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।
केपी शर्मा ओली

अध्यक्ष
नेकपा एमाले