अन्तर्राष्ट्रिय

जिम्बाबेमा राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउने तयारी

एजेन्सी ।  जिम्बाब्वेको सत्तारुढ दल जानु-पीएफले राष्ट्रपति रोबर्ट मुगाबेविरुद्ध आफ्नी श्रीमतीलाई संवैधानिक अधिकार हातमा दिने लगायतका आरोपसहित महाभियोग प्रक्रिया बढाउने तयारी गरेको छ। महाभियोग प्रस्ताव मंगलवार संसद्‍मा पेश गर्न लागिएको छ।

जानु-पीएफका वरिष्ठ सदस्य पल मनाङग्याग्वाले महाभियोगको प्रक्रिया दुई दिन जतिमा सकिने र बुधवारसम्ममा राष्ट्रपति मुगाबे हटिसक्ने बताएका छन्।

उक्त पार्टीले मुगाबेलाई पदबाट राजीनामा दिन दिएको समयसीमा सोमबार नै सकिसकेको छ। जिम्बाब्वेको संविधान अनुसार कसैले गम्भीर खालका पदीय दुरुपयोग गरे, संविधानको उल्लंघन गरे वा त्यसको पालना र बचाउ गर्न नसके तथा क्षमता नभएको जस्ता आधारमा महाभियोग लगाउन सकिन्छ।

मुगाबेमाथि आफ्नी श्रीमतीलाई सरकार चलाउने कुनै अधिकार नभए पनि सत्ता हातमा लिने संवैधानिक अधिकार दिएको, उपराष्ट्रपति र सरकारी कर्मचारीहरुको अपमान गरिरहेको र सेनाको बदनाम गरेको लगायतका अभियोग लगाउन लागिएको पल मनाङग्याग्वाले बताए।

सेनाका उच्च अधिकारीहरुले आफूहरुले मुगाबेको भविष्यबारे एउटा मार्गचित्र बनाइसकेको र पदबाट हटाइएका पूर्व उपराष्ट्रपति एमर्सन मननङग्याग्वा छिट्टै देश फर्कने पनि बताएका छन्।