आर्थिक

निर्वाचनको मुखमा नक्कली नोटको बिगबिगी

बेनी । निर्वाचनको मिति नजिकिँदै जाँदा म्याग्दीमा नक्कली नोटको बिगबिगी बढेको छ। विभिन्न बैंक तथा वित्तीय संघसंस्था, सहकारी, किराना पसल तथा विद्यालयहरूमा पनि नक्कली नोट भेटिन थालेपछि सर्वसाधारण त्रासमा कारोबार गर्न बाध्य छन्। यसरी भेटिनेमा एकहजार रुपैयाँका नोट बढी छन्।

मंगलबारको अन्नपूर्णमा लेखिएको छ, गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनका बेला पाँच सय रुपैयाँको नोटको बिगबिगी थियो। दुईदिनअघि बेनीस्थित लोकदीप सहकारीमा पहिलोपटक हजार रुपैयाँ नक्कली नोट भेटिएको थियो। सोमबार मात्रै गरिमा विकास बैंक, प्रकाश मावि र एक किराना पसलमा एकै किसिमको हजार रुपैयाँको नक्कली नोट भेटिएको हो।

निर्वाचनको एक साताअघि श्रृंङखलाबद्ध भेटिएका यस्ता नक्कली नोटबारे प्रहरीले अनुसन्धान अघि बढाएको छैन। लोकदीप सहकारीका प्रबन्धक नेत्रराज पौडेलले नक्कली नोट भेटिएको जानकारी प्रहरीलाई खबर गरेपनि अनुसन्धान हुन नसकेको बताए।

‘अरु ठाउँमा भेटिएको हल्ला चले पनि हाम्रोमा पहिलोपटक यस्तो भेटिएको छ’, उनले भने, ‘निर्वाचनकै सिजनमा भेटिएकाले यो सुनियोजित हुनसक्छ। यस्तो भेटिँदा ग्राहकले हामीप्रति अलि कम विश्वास गर्नुहुन्छ।’ सहकारीहरूमा नोट पहिचान गर्ने मेसिन नहुँदा नक्कली र सक्कली नोट पहिचान गर्न समस्या भएपनि अधिकांश बैंकमा यो सुविधा रहेका कारण बैंकहरूमै बढी नोट भेटिने गरेका छन्।

बेनीस्थित गरिमा विकास बैंकका प्रबन्धक कमलप्रसाद ढुङ्गानाले निर्वाचनकै समयमा यस्तो घटना दोहोरिने गरेको बताए। ‘वैशाखमा पाँच सय रुपैयाँको नोट बढी भेटिएको थियो। अहिले हजार रुपैयाँको बिगबिगी छ। हामी कहाँ नोट पहिचान मेसिन भएकाले समस्या हुँदैन’, उनले भने। उनका अनुसार नक्कली नोटको पहिचान सामान्य साक्षर व्यक्ति गर्न सक्दैन्। ‘नोटलाई राम्ररी हेर्न हो भने नक्कलीमा लालीगुरासको तस्बिर, नेपाल राष्ट्र बैंकको छोटकरी रुप एनआरबी देखिँदैन’, उनले भने, ‘कतिपय सन्दर्भमा नोट छामेर पनि पहिचान हुन्छ।’

प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले श्रृंखलाबद्ध तरिकाले नक्कली नोट भेटिनुले गिरोह नै सक्रिय रहेको हुनसक्ने शंकाका आधारमा अनुसन्धान अघि बढाइएको बताए। ‘तर यस्तो ठाउँमा भेटियो भनेर न्यून मात्रामा उजुरी आएका छन्। तैपनि हामीले त्यसमा ध्यान दिएका छौँ’, उनले भने, ‘निर्वाचनमा मत प्रभावित पार्ने हिसाबमा यो घटना भएको हुन सक्नेतर्फ सचेत छौँ।’