पु.समाचार

कांग्रेसले निर्वाचन हार्दा देश नै हार्छ: गगन थापा

बागलुङ । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेसले निर्वाचन हार्दा देश नै हार्ने बताएका छन्। बागलुङको गल्कोटमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै थापाले नेपाली कांग्रेस चुनाव हार्न तयार रहेको तर देशले हार्ने अवस्था आउन नहुने बताए।

‘देश गम्भीर संकटमा जाने स्थीति आउँदा नेपाली कांग्रेसले आफुले हारेर पनि देशलाई बचाएको छ,’ थापाले भने,‘अहिले कांग्रेसले निर्वाचन हारे देश नै हार्ने अवस्थामा छ। त्यसैले अहिले नेपाली कांग्रेसले जित्नुको विकल्प छैन।’ विगतमा पनि कांग्रेसले देशका लागि हार स्वीकार गरेको उनले बताए भन्दै मंगलबारको नागरिकमा लेखिएको छ ।

‘२०६४ सालमा हामीले निर्वाचन हार्दैछौं भन्ने थाहा थियो, गिरीजाबाबुले कांग्रेस हार्दा हार्दै पनि निर्वाचन गराउने फैसला गर्नुभयो, त्यतीखेर देशलाई बचाउनुपर्ने थियो,’ उनले भने,‘२०३३ सालमा वीपी कोईरालाले राष्ट्रियताका लागि आफ्नो ज्यानको बाजी लगाएर मेलमिलापको नीति लिएर स्वदेश फर्किनुभयो ।

नेपाली कांग्रेसले जहिले पनि देशलाई अप्ठ्यारो पर्दा आफुले हारेरै भए पनि देशलाई बचाएको छ।’ पहिलो संविधान सभा निर्वाचनपछि बहुमतमा पुगेका कम्युनिष्ट पार्टीले नेतृत्व गरेकार सरकारले जारी गर्न नसकेको संविधान नेपाली कांग्रेसको नेतृत्वमा जारी भएको जिकीर गरे।

‘६ वर्षसम्म कम्युनिष्ट नेताहरुले पालैपालो सरकारको नेतृत्व गर्दा जारी हुन नसकेको संविधान निर्माणका काम नेपाली कांग्रेसको नेतृत्वमा एक वर्षमै पूरा भयो,’ थापाले भने,‘कमिकमजोरी हामी पनि छन् तर हामीले आफ्नो दायित्व भुलेका छैनौं ।’

थापाले देशको तीव्र आर्थिक वृद्धिका लागि नेपाली कांग्रेसले नेतृत्व गर्ने बताए। ‘केही वर्ष पहिलेसम्म हामीसंगै मुलुक अहिले तीव्र गतिमा आर्थिक वृद्धि हाँहिल गरिरहेका छन्,’ थापाले भने,‘हामीलाई पनि अब कुनै बहाना बनाउने छुट छैन । राजनीतिक क्रान्तिको नेतृत्व गरेको काँग्रेसले अब आर्थिक क्रान्तिको पनि नेतृत्व गर्छ।