पु.समाचार

यस्तो थियो प्रकाश दाहालको राजनीतिक र पारिवारिक जीवन–यात्रा

काठमाडौं । तत्कालिन नेकपा माओवादीले जनयुद्धको थालनी गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहालका एक मात्र छोरा प्रकाश दाहाल १४ वर्षका थिए । पिता जनयुद्धमा भूमिगत भैसके पनि परिवारको व्यवस्थापनको तयारी पनि गर्दै थिए । तर जनयुद्धको तिव्रतासँगै सबै परिवार भूमिगत हुने अवस्था आयो । सरकारी धरपकडले घरमा बस्ने अवस्था रहने । उनी पनि पितासँगै भूमिगत बने।

२०३८ असार १७ गते चितवनको शिवनगरमा जन्मेका प्रकाशले जनयुद्धमा भूमिगत जीवन देखि पार्टी शान्ती प्रक्रियामा आएपछि अध्यक्ष दाहालको सचिवालय सम्हाले । आफ्ना पिता तथा पार्टी अध्यक्ष दाहालको सचिवालयमा रहेर सूचना प्रवाह तथा व्यवस्थापनमा गरेको सहयोगको पार्टी पंति भित्र प्रसंशा हुनेगर्छ । प्रकाशको आइतबार बिहान ३६ वर्षको उमेरमा हृदयघातका कारण निधन भएको छ । उनी माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत हुन् ।

जनयुद्धको समयमा प्रकाशको संगत गरेका डा.बाबुराम भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार उनको व्यक्तित्व बाहिर देखिए जस्तो हल्का थिएन । ‘जनयुद्धकै समयमा उहाँसँग भारतमा मेरो भेट भएको हो । प्रकाश दाई मनको सफा हुनुहुन्थ्यो’ पाण्डेले भने, ‘हाँसो रमाइलो गर्न मन पराउने र साथीहरुसँग मिलनसार हुनुहुन्थ्यो।’

प्रकाशले राष्ट्रपतिबाट प्रवल जनसेवा श्री पदक पाए पनि उनले त्यसलाई फिर्ता गरेका थिए । राजनीतिका अलवा प्रकाशको अर्को फरक परिचय पनि रहेको छ । उनी हिमाल आरोही पनि हुन् । उनले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । उनी प्रविधिमा पनि अब्वल मानिन्थे ।

सोमबारको नागरिकमा समाचार लेखिएको छ, जनयुद्धकै समयमा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुल महराले पनि प्रकाशसँग सहकार्य गरेका थिए। उनको सम्झनामा प्रकाश एक कुशल व्यवस्थापक हुन् । ‘हाम्रो भेट २०५९ साल तिर दिल्लीमा भएको हो त्यो समयदेखि हामी निरन्तर सहकार्यमा रह्यौं,’ महराले भने, ‘पछि म पार्टी हेडक्वार्टरको सुरक्षा टोलीमा खटिँए त्यसपछि अन्तरंग कुराहरु पनि हुन थाले । उहाँ निरन्तर काममा लाग्ने सरल स्वभावको व्याक्ति हो।’

महराले जनमुक्ति सेनामा काम गरेका थिए भने उक्त समय प्रकाश पिताको सचिवालयमा थिए । सचिवालयमा रहँदा पनि प्रकाशले अन्य सदस्यहरुको जस्तै जनमुक्ति सेनासँग युद्धमा भाग लिन जान पार्टीमा माग गर्ने गरेको महराले स्मरण गरे । प्रकाश हतियारका पनि सौखिन थिए । जनयुद्धको समयमा पनि उनले जनमुक्ति सेनाले चलाउने हतियारबारे चासो राख्ने गरेका उनका साथीहरु बताउँछन् । पछिल्लो पटक उनले पिता प्रधानमन्त्री भएकै समयमा २२ बोर बन्दुक इटालीबाट किनेका थिए ।

उनको वैवाहिक जीवन भने उतारचढाबपूर्ण रह्यो । पहिलो विवाह सफल हुन नसकेपछि दोस्रो विवाह कास्कीकी सृजना त्रिपाठीसँग भयो । पोखराको पृथ्वी चोकमा रहेको तत्कालिन वाइसिएल क्याम्पमा पञ्चेबाजा बजाएर विवाह भए पनि दुईबीचको सम्बन्ध सुखद रहेन । प्रकाशले पुन विद्यार्थी नेत्री विना मगरसँग बिहे गरे । विनासँग विहे गरेपछि केही समय उनी कुनै सिनमा देखिएनन् । पार्टीले पनि प्रकाशलाई कारबाही ग¥यो । कारबाही फुकुवा भएसँगै उनी फेरी पिताको सचिवालयमा फर्केर काम गर्न थाले । सृजना र विना तर्फ प्रकाशका एक एक छोरा छन्।

प्रकाश परिवारका कान्छा सदस्य हुन् । उनका तीन दिदी छन् । जेठी दिदी ज्ञानु दाहालको क्यान्सरका कारण यस अघि निधन भैसकेको छ भने माइली दिदी भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल हुन् । कान्छी दिदी गंगा दाहाल हुन्।

अन्तीम श्रद्धाञ्जलीको लागि उनको पार्थिव शरिर पार्टी मुख्यालय पेरीस डाँडामा राखिएको थियो । त्यहाँ विभिन्न दलका नेता तथा सुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरे । छोरा प्रकाशलाई पशुपति आर्यघाटमा पिता पुष्पकमल दाहालले दागवत्ती दिए। उनको अन्त्येष्टीमा आर्यघाटमा शुभेच्छुकको ठूलो भिड जम्मा भएको थियो।