पु.समाचार

पछिल्लो राजनीतिक घटनालाई मध्यनजर गर्दै प्रदेश नं १ मा सुरक्षा समिति बैठक

विराटनगर । संघीय संविधान कार्यान्वयनको मुख्य कडिको रुपमा रहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, भयरहित एवं निष्पक्ष रुपमा सम्पन्न गर्ने सम्बन्धमा आज यहाँ सुरक्षा समितिको बैठक बसेको छ ।

निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले गृह मन्त्रालयद्वारा प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्य निर्वाचन–२०७४ अन्तर्गत प्रदेश नं १ को सुरक्षा समिति बैठकको उद्घाटन गरे ।

निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न, विगतमा सम्पन्न स्थानीय निर्वाचनमा अपनाइएका सुरक्षा अनुभव, छिमेकी जिल्लाको सुरक्षा अनुभव आदानप्रदान, जिल्लाको सुरक्षामा कार्यान्वयनमा आवश्यक सहयोग, निर्वाचनलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सुरक्षा समन्वय, जनतालाई सुरक्षाको अनुभूति प्रदान गर्न, वर्तमान जिल्लाका सुरक्षाको अवस्था, विश्लेषण, सुरक्षा कार्यान्वयनको अवस्थाको जानकारी प्रदान गर्ने उद्देश्यले छलफलको आयोजना गरिएको हो ।

सो अवसरमा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले वर्तमान अवस्थामा देखिएको सुरक्षा चुनौतीलाई नयाँ रणनीतिक ढंगले समाधान गर्नुपर्ने आवश्यक्ता औल्याए ।

गृहमंत्रालयकी सहसचिव निर्मला अधिकारीले सुरक्षामा देखिएको चुनौतीपूर्ण अवस्थालाई सुरक्षा संयन्त्रले आफ्नो सक्षमता प्रदर्शन गरी सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आग्रह गरे ।
एक दिने उक्त सुरक्षा छलफल कार्यक्रममा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका महारीक्षक सिंहबहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीपराज रेग्मी, बलाधिकृत रथी पूर्णचन्द्र थापा, पूर्वाञ्चल क्षेत्रीय प्रशासक राजेश्वरमान सिंहलगायत प्रदेश नं १ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, राष्ट्रिय अनुसन्धान आयोग, गृह प्रशासनका कर्मचारीको सहभागिता रहेको छ ।