पु.समाचार

यस्तो हुनसक्छ बम आक्रमणका घटना ह्वात्तै बढ्नुको भित्री कारण, बढ्यो सुरक्षा चूनौती !

काठमाण्डौ । मुलुकमा नयाँ संविधान जारी भएपछिको पहिलो संघीय र प्रदेशसभा निर्वाचन सम्पन्न हुँदैछ । मंसिर १० गते सम्पन्न हुने निर्वाचन आउन अब एक हप्ता भन्दा बढी समय छैन । तर निर्वाचन सम्पन्न गर्नका लागि चूनौतीका चाङ एकपछि अर्को गरी थुप्रिने क्रम जारी छ ।

पछिल्ला दिन हवात्तै देशैभर हिंसात्मक घटनाहरु बढ्न थालेका छन् । चुनावी मैदानमा उत्रिएका उम्मेद्वारहरुमाथि एकपछि अर्को बम हमलाहरु भैरहेका छन् । करिब एकहप्ता यता दर्जनौ बम आक्रमणहरु भैरहेका छन् । चुनावी मैदानमा ओर्लिएका उम्मेद्वारहरु बालबाल बाँचिरहेका छन् ।

केही दिनअघि माओवादी केन्द्रका उम्मेद्वारहरु जनार्दन शर्मा र वर्षमान पुनमाथि बम हमला भएको थियो भने त्यसलगत्तै माओवादीकै अर्का नेताद्वय कृष्णबहादुर महरा र ओनसरी घर्तीमाथि पनि बम आक्रमण भएको छ । महरा वर्तमान सरकारका विना विभागीय मन्त्री हुन् भने घर्ती निवर्तमान सभामुख हुन् ।

माओवादी केन्द्रका नेताहरुमाथि भएको श्रृंखलाबद्ध बम आक्रमणलगत्तै कांग्रेसका प्रभावशाली नेता एवम् पूर्व अर्थमन्त्री रामशरण महतमाथि पनि शनिबार बम आक्रमण भएको छ । गृहजिल्ला नुवाकोटको चुनावी अभियानमा रहेकै बेला नेता महतमाथि बम आक्रमण भएको थियो । उनको अभियान टोलीमा सवार एउटा गाडी बम आक्रमणका कारण ध्वस्त भएको छ भने गाडीमा सवार केही कांग्रेस कार्यकर्ताहरु घाइते समेत भएका छन् ।

निर्वाचनको समय जति नजिकिदै छ, त्यतिनै बम आक्रमणका घटनाहरु तीव्र रुपमा बढिरहेका छन् । आक्रमणको जिम्मेवारी भने कसैले लिएको छैन । सरकार र प्रहरी प्रशासनले भने शृंखलाबद्ध बम आक्रमणका घटनाहरुमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि शंका गरिरहेको छ । धेरै जिल्लाहरुमा सो पार्टीका नेता–कार्यकर्ताहरु समेत धमाधम पक्राउ परिरहेका छन् ।

निर्वाचनको मिति नजिकिदै जाँदा कसको निर्देशनमा यसरी श्रृंखलाबद्ध बम आक्रमणका घटनाहरु बढिरहेका छन् ? यसबारे आधिकारिक जिम्मेवारी कसैले नलिनु र सरकारले समेत मुख नखोल्नुले आक्रमणहरु थप रहस्यमय बन्दै गइरहेका छन् ।

विप्लवका कार्यकर्ताहरु धमाधम पक्राउ पर्दै
पछिल्ला दिन भएका श्रृंखलाबद्ध बम आक्रमणका घटनाहरु लगत्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा आबद्ध कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेका छन् । गोरखा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उनीहरु घटनामा संलग्न भएको आशंकामा पक्राउ परिरहेका छन् । प्रहरीले उनीहरुलाई चुनाव अवधिभर हिरासतमै राख्ने तयारी गरिरहेको छ ।

निर्वाचन अभियानका क्रममा शुरुमै रोल्पा र रुकुमबाट पक्राउ भएका विप्लवका कार्यकर्ताहरुमा माओवादी केन्द्रका नेताका छोरा समेत पक्राउ परिरहेका छन् । केही दिनअघि माओवादी केन्द्रका नेता शर्मा र पुनमाथि भएको आक्रमणमा माओवादी केन्द्रकै अर्का नेता झक्कु सुवेदीका छोरा पक्राउ परेका थिए । छोरा पक्राउ परेलगत्तै काठमाण्डौ क्षेत्र नम्बर ६ बाट चुनाव लडिरहेका झक्कु थप तनावमा रहेका छन् । त्यस्तै पूर्वमा समेत विप्लवका कार्यकर्ताहरु पक्राउ पर्नुले श्रृंखलाबद्ध आक्रमणमा उनीहको संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ ।

केपी ओलीको अभिव्यक्तिपछि थप आक्रमण !
केही दिनअघि राजधानीमा आयोजित एक कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द विप्लवमाथि निकै कडा व्यंग्य प्रहार गर्न भ्याएका थिए । अध्यक्ष ओलीले विप्लवलाई भाईको संज्ञा दिँदै बम आक्रमण गर्न छाडेर जनताको उपचारमा जुट्न भन्दै घुमाउरो तरिकाले व्यंग्य प्रहार गरेका थिए ।

त्यतिमात्र होइन, ओलीले ‘विप्लव’ लाई केटौले भन्दै व्यंग्य गरेका थिए । त्यसपछि थप आक्रमणका घटनाहरु बढेका छन् । यद्यपि, ती आक्रमणमा एमाले उम्मेद्वारहरु भने परेका छैनन् । अध्यक्ष ओलीले विप्लवविरुद्ध तथानाम गाली गरेपनि अहिलेसम्म भने माओवादी केन्द्र र कांग्रेसका नेताहरु बमको निशानामा परेका छन् ।

त्यसैले पनि ओलीको व्यंग्य प्रहारको निशानामा विप्लव त परे तर घटनाबारे अन्योलता कायमै रहेको देखिन्छ । यदि विप्लवकै पार्टीले यी घटनाहरु घटाएको हुन्थ्यो भने एमाले उम्मेद्वारहरु थप निशानामा पर्न सक्ने सम्भवना हुन्थ्यो तर त्यस्तो देखिएको छैन । यद्यपि, सरकार र राजनीतिक दलहरुले भने घटनाबारे आधिकारिक रुपमा प्रतिक्रिया दिइसकेका छैनन् । यसबारे विप्लव माओवादीको धारणा पनि सार्वजनिक भएको छैन ।

थपियो सुरक्षा चूनौती !
पछिल्ला दिनमा भएका बम आक्रमणका घटनाले सरकारमाथि थप सुरक्षा चुनौती थपिएको छ । उम्मेद्वारहरुमाथिनै हुने गरेका यी घटनाले जनताको मनोविज्ञानमा समेत असर पर्दै गएको छ । निर्वाचनलाई भयरहित ढंगले सम्पन्न गर्ने तयारी गरेपनि एक्कासि भएका घटनाहरुका कारण सरकारनै अल्मलिएको देखिन्छ । यसैगरी घटनाहरु बढ्दै गए कसरी चुनाव हुन्छ ? प्रश्नहरु अघि आउन थालेका छन् ।