खेलकुद

खुसी छैनन् लियोनल मेसी

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना आउँदो जनवरीको ट्रान्सफर विन्डोमा इंग्लिस क्लब लिभरपुलका प्ले मेकर फिलिप कोन्टिन्होलाई भित्र्याउने प्रयासमा छ । बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सी भने कोन्टिन्होलाई दिन लागेको रकमबाट खुसी नरहेको खबर सार्वजनिक भएको छ ।

गएको ट्रान्सफर विन्डोमा तीनपटकसम्मको प्रयासमा पनि बार्सिलोना कोन्टिन्होलाई क्लब भित्र्याउन सफल भएको थिएन । लिभरपुलका प्रशिक्षक जर्गेन क्लोप कोन्टिन्होलाई क्लबमै राख्ने वातावरण बनाउन हर सम्भव प्रयासमा लागेको जनाइएको छ । नेइमार विश्व कीर्तिमानी २० करोड पाउण्डमा पेरिस सेन्ट जर्मेन पिएसजी गएपछि बार्सिलोना उनीजस्तै अर्को उत्कृष्ट खेलाडीको खोजीमा छ ।

कोन्टिन्होलाई वर्षको २५ मिलियन युरोमा सम्झौता गर्न लागेकाले मेस्सी खुसी नरहेको खबर सार्वजनिक भएको हो । जुन रकम बार्सिलोनामा मेस्सीपछिको धेरै हो । क्लबमा लामो समय उत्कृष्ट प्रदर्शन गरेका इनिएस्टा, पिके, बुस्केटस जस्ता खेलाडीलाई भन्दा नयाँ अनुबन्ध हुने कोन्टिन्होलाई धेरै रकम खर्च गर्न नहुने मेस्सीले बताएका छन् ।

बार्सिलोनाका लिजेण्ड एन्द्रेस इनिइस्टा र इभान र्याकिटिक भने कोन्टिन्होलाई ल्याउन नहुने पक्षमा छन् । अहिलेको प्रयासमा पनि कोन्टिन्होलाई ल्याउन इनिइस्टा र र्याकिटिक भने खुसी देखिएका छैनन् । इनिइस्टा अहिलेको मिडफिल्डमा पउलिन्हो, सर्जी रोबर्टो, डेनिस स्वारेज र आन्द्रे गोमेसबाटै राम्रो भइरहेको पक्षमा छन् भने र्याकिटिक कोन्टिन्हो आएको खण्डमा आफूले कम समय खेल्न पाउने र आफ्नो स्थान नै धरापमा पर्ने डरमा छन् ।