पु.समाचार

बम विष्फोट लगत्तै प्रहरीले दियो यस्तो प्रतिक्रिया

काठमाण्डौ । नेपाल प्रहरीले उम्मेदवार र मतदातामाथि सुरक्षा प्रत्याभूति गर्न प्रहरी लागिपरेको बताएको छ । कतिपय स्थानमा सुरक्षा संयन्त्रको उपस्थिति कमजोर भएको र निकै टाढाबाट आक्रमणका घटना भएको प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए ।

उनले भने, “हामीले सुरक्षा सतर्कता अपनाएका छौँ । कतिपय स्थानमा सुरक्षा संयन्त्रको कम उपस्थिति र टाढाबाटै आक्रमण भएका छन् । सुरक्षा संयन्त्रबाट पनि तत्कालै प्रतिकार भएका छन् । हामीले सुरक्षा संयन्त्रलाई सतर्क रहन पनि आवश्यक निर्देशन दिइसकेका छौँ । ”

निर्वाचन आयोग स्तब्ध
शनिबारको गोरखापत्रमा लेखिएको छ, निर्वाचन आयोगले उम्मेदवारमाथि भइरहेको आक्रमणले आफू स्तब्ध भएको बताएको छ । उम्मेदवार र मतदाताको सुरक्षा प्रत्याभूत गर्न आयोगले सरकारको पुनः ध्यानाकर्षणसमेत गराएको छ । आयोगले विज्ञप्ति जारी गर्दै निर्वाचनविरोधी हिंसात्मक घटना नगर्न नगराउन सम्बद्ध पक्षलाई आयोगले निर्देशनसमेत दिएको छ ।

आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “निर्वाचनका लागि नेपाल सरकारले बनाएको निर्वाचन सुरक्षा योजनाप्रति आयोग विश्वस्त रहेको छ, तर हालैका दिनमा देशका विभिन्न ठाउँमा भएका घटनाक्रमबाट उम्मेदवारहरूले शान्तिपूर्ण रूपमा प्रचारप्रसार गर्न पाउने अधिकार र मतदाताले भयरहित वातावरणमा मतदान गर्न पाउने नैसर्गिक अधिकारमा बाधा व्यवधानले आयोगलाई स्तब्ध तुल्याएको छ । ”