पु.समाचार

लायन्स क्लबद्वारा विद्यार्थीलाई झोला वितरण

काठमाडौँ । लायन्स क्लब अफ काठमाडौं मिडटाउनले कुण्डला भूपू विद्यार्थी समाजको सहकार्यमा नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका–५ स्थित कुण्डला माद्यामिक विद्यालयका विद्यार्थीलाई ‘स्कूल ब्याग’ वितरण गरिएको छ ।

कुण्डला माविमा आज आयोजित एक कार्यक्रममा विद्यालयका दुई, तीन, चार र पाँच कक्षाका विद्यार्थीलाई ब्याग वितरण गरिएको उक्त क्लबका पूर्वअध्यक्ष तथा लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का जोन चेयरपर्सन महेश पाण्डेले जानकारी दिए ।

उनका अनुसार विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई क्लवका सदस्यबाट संकलित रकमले विद्यार्थीका पाठ्य सामग्री उपलब्ध गराइएको हो । यसअघि लायन्स क्लबले त्यस क्षेत्रमा विविध सामाजिक कार्य गर्दै आएको छ ।

कुण्डला माविमा विद्यालय शिक्षा पूरा गरी देश तथा विदेशमा कार्यरत पूर्वविद्यार्थीका संस्था विद्यार्थी समाजले पनि त्यस क्षेत्रका विभिन्न विद्यालयमा गुणस्तरीय शिक्षा प्रदानमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै विद्यालयका अतिरिक्त क्रियाकलाप सहयोग गर्दै आएको छ ।

उक्त विद्यालयका प्रधानाध्यापक शम्भू यादवले विद्यालयका भूपू विद्यार्थी तथा लायन्स क्बलजस्ता संस्थाले विद्यार्थी र समग्र विद्यालयको शैक्षिक विकासमा महत्वपूर्ण सहयोग पु¥याएकोमा त्यसको सरहाना गरे ।

विद्यालयमा कक्षा एकदेखि १२ सम्म करिब ७०० विद्यार्थी अध्ययनरत छन् ।