राजनीति

यसरी राजनीति भविष्यसंग यसरी जोडिदैछ धनुषामा दर्जन नेताहरुको चुनावी प्रतिष्पर्धा

महेन्द्रनगर, धनुषा । धनुषा जिल्लाको चार वटै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा सात दर्जनभन्दा बढीले उम्मेदवारी दिए पनि आठजना शीर्ष नेतालाई भने कडा प्रतिस्पर्धा गर्नु परेको छ ।

कडा प्रतिस्पर्धाबीच राजनीतिक भविष्य दाउमा रहेको शीर्ष नेतामा धनुषा निर्वाचन क्षेत्र नं १ मा नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना, माओवादी केन्द्रका मातृकाप्रसाद यादव, क्षेत्र नं २ मा वर्तमान कृषिमन्त्री एवं काँग्रेस नेता रामकृष्ण यादव, माओवादी केन्द्रका नेता रामचन्द्र झा, क्षेत्र नं ३ मा काँग्रेसका नेता विमलेन्द्र निधि, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो र क्षेत्र नं ४ मा खानेपानी मन्त्री तथा काँग्रेस नेता महेन्द्र यादव तथा एमाले नेता रघुवीर महासेठ चुनावी प्रतिस्पर्धामा छन् ।

यी मुख्य प्रतिपस्पर्धी नेतालाई अहिले मतदाता रिझाउन हम्मे–हम्मे परेको छ । नेताका कार्यक्रममा कोणसभा, पार्टी प्रवेश, घरदैलो अभियान दिनरात चलिरहेको छ । प्रायः सबै नेताले आफ्ना कमजोरी लुकाउन जातीय शक्तिलाई प्रयोग गरिरहेका खेखिन्छ । नेताले विकासभन्दा जातिका कुरा बढी उठाइरहेका छन् ।

नेपाली काँग्रेस नेता आनन्दप्रसाद ढुंगाना धनुषाबाट दुईपटक सांसद भइसकेका र एकपटक पराजित भएका थिए । उनलाई काँग्रेसले संविधानसभा २ मा समानुपातिकबाट सभासद् बनाएको थियो । ढुंगानालाई धनुषा–१ मा कडा टक्कर दिइरहेका माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव पहिलो पटक चुनाव लड्दै छन् । पहिलो संविधानसभाको चुनावमा उनलाई माओवादीले समानुपातिकबाट सभासद् बनाएको थियो । माओवादी अध्यक्ष प्रचण्डसँग असन्तुष्टि बढेपछि उनले कार्यकाल पूरा गर्नुअघि नै सभासद्बाट राजीनामा दिएका थिए।

नेका नेता रामकृष्ण यादव धनुषा निर्वाचन क्षेत्र नं २ बाट दुई पटक लगातार निर्वाचित भइसकेका छन् । पहिलो पटक सभासद् बनेपछि लेखासमितिको संयोजकसमेत भएका यादव अहिले कृषिमन्त्रीसमेत छन् । सोही क्षेत्रबाट आफ्नो भविष्य खोजी रहेका माओवादी नेता रामचन्द्र झा पनि दुई पटक सांसद बनिसकेका छन् । पहिलो संविधानसभाको चुनावमा एमालेबाट जितेका झा दोस्रो संविधानसभाको चुनावभन्दा केही महिनाअघि मात्रै माओवादीमा प्रवेश गरेका थिए तर दोस्रो चुनावमा उनी पराजितभए । झा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा स्थानीय विकासमन्त्रीसमेत भइसकेका छन् । यादव र झाबीच सो क्षेत्रमा कडा प्रतिस्पर्धा देखिएको छ ।

सबभन्दा बढी धनुषा निर्वाचन क्षेत्र नं ३ मा यतिबेला सबैको ध्यान केन्द्रित छ । यस क्षेत्रका शीर्ष नेता नेपाली काँग्रेसका निधि र राजपाका महतोले उम्मेदवारी दिएसँगै कसले बाजी मार्ने भनेर चौतर्फी चर्चाको विषय बनेको छ । यतिखेर मतदातालाई फकाउन काँग्रेसका नेता निधि र राजपाका नेता राजेन्द्र महतो दिनरात खटिएका छन् । बिहान उठेदेखि अबेर रातिसम्म दुवै नेताको प्रचार प्रसारका कार्यक्रम चलिरहेको हुन्छ ।

दुवै नेताले जित आफ्नो पक्षमा पार्नका लागि आफ्नो क्षेत्रबाहेक कुनै क्षेत्रमा जान सकेका छैनन् । महतो चुनावमा नआउँदा निधिलाई त्यति गाह्रो थिएन तर उनको आगमनसँगै कडा प्रतिस्पर्धा हुने आकलन सबैले गरिरहेका छन् । धनुषा–३ मा मुस्लिम मतदाताको मतले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले त्यसतर्फ पनि दुवै नेता जोड दिएका छन् ।

धनुषा–४ बाट खानेपानी मन्त्री एवं काँग्रेस नेता महेन्द्र यादव र एमाले नेता रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । यादव पहिलो पटक संसद्मा चुनाव लड्दै छन्। पहिलो र दोस्रो संविधानसभा चुनावमा उनलाई समानुपातिकबाट संसद्मा प्रतिनिधित्व गराइएको थियो । यादव तरुण दलको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । एमाले नेता रघुवीर महासेठ धनुषाबाट एक पटक सांसद भएका छन् । राष्ट्रपतिमा डा रामवरण यादव चुनिएपछि उनको खाली भएको सिटमा भएको उपचुनावमा महासेठले नै बाजी मार्न सफल भएका थिए। दोस्रो संविधानसभा चुनावमा महासेठलाई पराजित हुनु परेको थियो । महासेठ एक पटक मन्त्रीसमेत भइसकेका छन् । धनुषामा कूल ३८ लाख ९३ हजार ८६ मतदाता रहेकामा पुरुष २० लाख २८ हजार ८९, महिला १८ लाख ६४ हजार ९१ र तेस्रोलिङ्गी ६ जना रहेका छन् ।