पु.समाचार

बेरोजगारीका कारण मतदान गर्नबाट वञ्चित सिंजाली युवा

शुरबहादुर सिंह
जुम्ला । प्रदेश क्षेत्र नं (ख) मा पर्ने सिंजा क्षेत्रको माथिल्लो भेकका युवालाई यतिबेला तराईतिर झर्ने चटारो छ । दिनहुँ ५० देखि ८० को हाराहारीमा युवा रोजगार तथा व्यवसायका लागि तराई झरिरहेका छन् । यो क्रम तिहारको पछिल्लो दिनबाट आजसम्म निरन्तर छ ।

युवाको बाहिरिने क्रम रहर नभई बाध्यता हो । कर्णाली अञ्चलको उच्च हिमाली क्षेत्र युवा यो याममा भारत पस्नु नियत नभई नियति बनेको छ । यो समयमा गाउँमा मर्दाको मलामी र जिउँदाको जन्ती हुने युवा भेटिँदैनन्, गाउँमा । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र भेटिने गरेको पत्रकार प्रकाश उपाध्याय बताउछन् ।

“कनकासुन्दरी गाउँपालिका–४ लेखपर गाउँका झण्डै ५५ प्रतिशत युवा आफ्नो रोजीरोटीका लागि तराई झरेका छन् भने कनकासुन्दरी–५ लुड्कुगाउँका करिव ४५ प्रतिशत युवाले घर छोडिसके”, पत्रकार उपाध्याय भन्छन् । हिमा गाउँपालिका–४ च्यामागाउँ झनै पुरुषविहीन गाउँ बनेको स्थानीय शिक्षक दीपबहादुर शाही बताउछन् । आयआर्जनका लागि उनीहरू भारततर्फ लागेकाले अब एकैचोटि फागुन–चैत महिनामा आउने उनको भनाइ छ । घर छोड्नेमा मताधिकार भएका युवा तथा प्रौढ नै रहेको स्थानीयवासी सूर्यमणि हमाल बताउछन् । उनका अनुसार यसरी युवा बाहिरिनुको कारण आफ्नो देशमा रोजगार नमिल्नु नै हो ।
आफूले जिताएका नेता र राज्यको बागडोर सम्हालेका नेतृत्व वर्गले नागरिकको अवस्थाबारे चासो नदिएका कारण हजारौ युवा विदेशिन बाध्य हुनुपरेको कनकासुन्दरी–५ का बद्री बोहोरा उल्लेख गर्छन् ।

हामी युवा, गरिब र विपन्न वर्गलाई भोट बैंक बनाएर आफ्नो कुर्सीको मात्र चिन्ता गर्ने नेताका लागि हामी भोको किन बस्ने भनेर भनेर विदेशिनु परेको उनको भनाइ छ । कनकासुन्दरी–१ बुम्रमाडीचौरका स्थानीयवासी भीमबहादुर भण्डारीले यतिबेला भारत नधाए वर्षभरि लाउने र खाने समस्याले पिरोल्ने पीडा सुनाउछन् ।

धेरै युवाले मताधिकार हुँदाहुँदै आफूले चाहेको असल नेतालाई भोट दिन नपाउँदा खिन्न लागेको बताएका छन् । सामान्यतः रोजगार भएकै कारण प्राप्त अधिकार पनि प्रयोग गर्न नपाउँदा गह्रुँगो मन लिएर अर्काको देशमा जानु परेको तिला गाउँपालिका–८ जुम्लाका गोरबहादुर बस्नेत बताउछन् ।

“हामी आफूलाई गरिब ठान्थ्यौँ तर हामीभन्दा पनि राज्य गरिब रहेछ,” उनी भन्छन् । “यदि यही अवस्था रहिरहने र अधिकारको चाङ लगाउने तर उपभोग गर्न पाउने स्थिति सृजना नगर्ने हो भने किन भोट हालेर नेताको निजी र आसेपासेको जीवन सुधारका लागि हामी भ¥याङ भइदिने ?” रोष प्रकट गर्दै बस्नेत थप्छन् ।

रोजगारका लागि विदेशिने युवा तथा पुरुषका लागि तत्कालै रोक्ने अचुक औषधि आफूहरुसँग नभएको तर संविधान बमोजिमको रोजगारीको हकको व्यवस्थालाई मूल मुद्दा बनाएको सम्बद्ध उम्मेदवारहरूले बताएका छन् । अहिले जुम्लाका साबिकका मालिकाठाँटा, घोडेमहादेव, रारालिही, कुडारी, महावैपाथरखोला, कालिकाखेतु, बड्की, धाँपा, नराकोट, बिराट, पाण्डवगुफा, कनकासुन्दरी, मालिकाबोता, बुम्रमाडीचौर गाविसका सयौँ युवा तथा पुरुष जति सबै भारतीय भूमिमा लागेका छन् ।