राजनीति

वाम गठबन्धनलाई जनताले जिम्मेवारी दिने विश्वास

काठमाडौँ । नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व कायम गरी आर्थिक विकास र समृद्धिका लागि वाम गठबन्धनलाई यस पटक जनताले जिम्मेवारी दिने विश्वास व्यक्त गरेका छन् ।

नेकपा (एमाले) काठमाडौँ महानगरपालिका–३ बसुन्धराले आयोजना गरेको चुनावी कार्यक्रममा उनले वाम गठबन्धनले ल्याएको घोषणापत्रमा देशमा गरिबी, पछौटेपन, वर्गीय विभेदको अन्त्य गरेर विभिन्न उद्योगको विकास गर्ने योजना रहेको बताए ।

सामाजिक रुपान्तरणका लागि बेरोजगार समस्या समाधान गर्नुपर्नेमा जोड दिँदै काठमाडौँ क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार समेत रहेका नेता पोखरेलले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा निर्माण भएका सरकारले निजीकरणका नाममा सम्भावना भएका अधिकांश उद्योगलाई धराशायी बनाइएको आरोप लगाए।

सो अवसरमा कामपा–३ का वडाध्यक्ष दीपक केसी र एमाले कामपा–३ का अध्यक्ष कृष्ण चालिसेले वामपन्थीको एकताले लोकतन्त्रमा चुनौती थपिएको भनेर काँग्रेसले गठबन्धनविरुद्ध विभिन्न भ्रम फैलाएको भन्दै त्यसप्रति चनाखो हुन आग्रह गरे ।