पर्यटन/संस्कृति

ईलामको पर्यटकीयस्थलमा एकाएक यसरी चहलपहल बढ्यो

इलाम । मौसम खुलेसँगै जिल्लाका प्रमुख पर्यटकीयस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको छ ।

जिल्लाकै अग्लो स्थानमा रहेको सन्दकपुर, कन्यामको हरियाली चिया बगान, सानो पाथीभरा, माइपोखरी, गजुरमुखी र अन्य सीमावर्ती पर्यटकीयस्थलमा चहलपहल बढ्दै गएको छ ।

यसपटक छिट्टै मौसम खुलेकाले सन्दकपुरमा पर्यटक आवागमन बढेको सन्दकपुर गाउँपालिकास्थित जमुनाका कुमार गुरूङले बताए । सन्दकपुरमा पर्यटकको बाक्लो उपस्थितिले यस क्षेत्रका होटल बुक भइसकेका छन् । कञ्चनजंघा, सगरमाथा, कुम्भकर्ण लगायतका हिमशृंखलासँगै सूर्योदय दृष्यावलोकनका लागि यहाँ पर्यटक आउने गरेका छन् । यहाँबाट नेपाल र भारतका थुप्रै स्थान देख्न सकिन्छ ।

यसैगरी, पूर्वको हरियाली कन्याममा पनि वनभोज खाने र घुम्न आउने पर्यटकको संख्या अत्यधिक छ । यहाँ दैनिक एक हजारभन्दा बढी आन्तरिक र बाह्य पर्यटक आउने गरेको स्थानीयवासी गणेश अर्याल बताउनुहुन्छ । झापा, मोरङ, काठमाडाँैंलगायत देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । यहाँबाट श्रीअन्तु, समालवुङ र कन्याम क्षेत्रको सुन्दर हरियाली देख्न सकिन्छ ।

सिमसार क्षेत्र माइपोखरी घुम्न आउनेको संख्या पनि उल्लेख्य छ । बरबोटे हुँदै १३ किलोमिटर कच्ची सडक पार गरेर पुगिने माइपोखरीमा दैनिक पाँच सयभन्दा बढी पर्यटक आउने गरेको स्थानीयवासी कमल मुखियाले बताए । यहाँ विश्वमै लोपोन्मुख गलैँंचे झ्याउ, अनौठा खालका चरा, ठकठकेलगायतका पक्षी तथा वनस्पति पाइन्छन् ।

विभिन्न प्रकारका लालीगुराँस र लोपोन्मुख रेडपाण्डा, काँडेभ्याकुर जस्ता पशुपक्षी सन्दकपुर क्षेत्रमा पाइन्छन् । कन्काई माइको उद्गमस्थल तीन हजार ६३६ मिटरको उचाइमा रहेको सन्दकपुर धार्मिक दृष्टिले पनि महत्वपूर्ण मानिन्छ । भारतको दार्जिलिङबाट सीमावर्ती मानेभञ्ज्याङ हुँदै पर्यटक सन्दकपुर पुग्छन् । मानेभञ्ज्याङदेखि ३१ किलोमिटरमा रहेको सन्दकपुरबीचका मेघमा, तुम्लिङ, जौवारी, गैरीवास, कैयाकट्टा र कालपोखरीमा पर्यटक रोकिने भएकाले त्यहाँ समेत चहलपहल बढेको छ ।

नेपालकै बाटो भएर पनि सन्दकपुर पुग्ने पर्यटकको संख्या उल्लेख्य छ । सदरमुकामबाट बिब्ल्याँटे हुँदै मावुबाट सन्दकपुरसम्म सडक जोडिएको छ । माइपोखरी हुँदै माइमझुवा भएर पनि सन्दकपुर पुग्न सकिन्छ । पर्यटक आउन थालेपछि वर्खाभरी बन्द रहेका होटल खुलेका छन् । सो क्षेत्रको मुख्य पर्यटकीय याम भएर दैनिक सयौं पर्यटक आउने स्थानीयवासी बताउँछन् ।

पर्यटक आगमनले यहाँको पर्यटन व्यवसाय फस्टाएको छ । पर्यटकीयस्थलमा अमेरिका, चीन, जापान, भारतलगायतका मुलुकबाट पर्यटक आउने गरेका छन् । पर्यटन सूचना केन्द्र किटेनीका कर्मचारी गगन घिमिरेका अनुसार आव २०७३/७४ मा ६६ हजार पर्यटक जिल्ला भित्रिएका थिए ।

सूचना केन्द्रका कर्मचारी गगन घिमिरेका अनुसार सबैभन्दा बढी पर्यटक कन्याम घुम्न आएका थिए । गत आवमा २४ हजार ५२ जनाले कन्यामको भ्रमण गरेका थिए । भ्रमण गर्न आउनेमा २९ हजार ८९ महिला र ३६ हजार चार सय ७० पुरूष रहेका छन् । गत आवमा १५४ विदेशी पर्यटकले इलामको भ्रमण गरेका थिए ।