पु.समाचार

नेपाली काँग्रेस (बिपी)को चुनावी घोषणापत्र सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेस (बिपी)ले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

पार्टीले बिपीको विचारका साथै राष्ट्रियता, लोकतन्त्र, समाजवाद, सुशासन र वैदिक सनातन धर्म संस्कृतिको रक्षालाई मुख्य मुद्दा बनाएको छ । घोषणापत्र सार्वजनिक गर्न आज आयोजित कार्यक्रममा पार्टी अध्यक्ष हरिबोल भट्टराईले बिपीको विचारका माध्यमबाट राष्ट्रको परिवर्तन सम्भव भएको बताए ।

“काँग्रेसले कुनै दलको वैशाखी नटेकी लोकतन्त्रको रक्षा गर्नुपर्छ भन्ने विचार कार्यान्वयन हुन नसकेपछि नयाँ दल गठन गरेका हौँ, मुलुकलाई निकास दिन बिपी विचार अपरिहार्य छ भन्ने हाम्रो मत छ”, भन्दै उनले प्रतिनिधिसभा निर्वाचनका लागि आफूले काठमाडौँ क्षेत्र नं १ बाट उम्मेदवारी दर्ता गराएको जानकारी दिए ।

पार्टीले मंसिर १० र २१ गते हुने निर्वाचनका लागि २३ प्रतिनिधिसभा सदस्य र आठ प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएको प्रवक्ता देवेन्द्र पौडेलले बताए ।