पु.समाचार

हँसिया प्रहार गरी श्रीमतीको हत्या

राजविराज । सप्तरीको बोदेवरसाइन नगरपालिकामा आज अपराह्न एक व्यक्तिले आफ्नी श्रीमतीलाई हँसिया प्रहार गरी हत्या गरेको आरोप लगाइएको छ ।

बोदेवरसाइन नगरपालिका– ३ निवासी जयप्रकाश यादवले अन्दाजी ३८ वर्षीया श्रीमती ललितादेवीको हँसिया प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बोदेवरसाइनका इञ्चार्ज प्रहरी नायब निरीक्षक उमाशंकर सिंहले जानकारी दिए ।

आज बिहान श्रीमान् श्रीमती दुवैजना घरदेखि पर धान खेतमा धान काट्न गएका बेला श्रीमान्ले श्रीमतीलाई हँसिया प्रहार गरेको बताइएको छ । अभियुक्त जयप्रकाशको मानसिक सन्तुलन कहिलेकाहीँ ठीक नहुने गरेको स्थानीयवासीको भनाइ छ ।

शवको टाउको र जीउ छुट्टिएको अवस्थामा प्रहरीले फेला परेको स्थानीयवासीले बताएका छन् । अभियुक्त जयप्रकाशलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुका दुई छोरा र एक छोरी छन् ।