पु.समाचार

उम्मेदवार राईमाथिको आक्रमणमा यसरी गरे ओलीले सरकारको बिरोध

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना भोजपुर कमा प्रदेशसभा सदस्य उम्मेदवार पूर्वसूचना तथा सञ्चारमन्त्री शेरधन राईमाथि आज बिहान भएको आक्रमणको निन्दा गरेको छ ।

भोजपुर–१ को ट्याम्के मैयुम नगरपालिका–७ गुम्बा भन्ने ठाउँमा निर्वाचन प्रचारका क्रममा राईको गाडीमाथि आक्रमण भएको थियो । एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज जारी गर्नुभएको विज्ञप्तिमा निर्वाचन प्रचारका क्रममा रहेका उम्मेदवारमाथिको सो आक्रमण निर्वाचन भाँड्ने उद्देश्यबाट प्रेरित भएको आरोप लगाइएको छ ।

“पार्टीको मागका वावजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका वामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासीनताले हाम्रो पार्टीलाई आश्चर्यचकित बनाएको छ”, ओलीको विज्ञप्तिमा भनिएको छ ।