सूचना प्रविधि

काँग्रेसले सञ्चालन गर्यो मिडिया सेन्टर

पोखरा । आसन्न निर्वाचनमा नेपाली काँग्रेसको पक्षमा जनमत तयार गर्दै चुनावी एजेन्डालाई जनतामाझ सुसुचित गर्ने लक्ष्यका साथ नेपाली काँग्रेसले प्रदेश नं ४ को मिडिया सेन्टर पोखरामा सञ्चालन गरेको छ ।

मिडिया सेन्टरको एक कार्यक्रमका बीच सोमबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री एवम् कास्की क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले उद्घाटन गरे ।

नेपाली काँग्रेसले प्रदेश नम्बर ४ को मिडिया सेन्टरको प्रमुखको जिम्मेवारी नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका पूर्वकेन्द्रीय उपाध्यक्ष पत्रकार गंगाधर पराजुलीलाई दिएको छ ।

सो अवसरमा मन्त्री थापाले निर्वाचनका क्रममा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताउँदै देशलाई नयाँ संविधान दिएको नेपाली काँग्रेसलाई अब समृद्धिका लागि जिताउनुपर्नेमा जोड दिए ।

लोकतन्त्रको आधारस्तम्भ आवधिक निर्वाचन र त्यसको पर्याय नेपाली काँग्रेस भएको बताउँदै उनले चुनावमा रुख चिन्हलाई कुनै व्यक्ति, नेता वा नेपाली काँग्रेसको मात्र नसम्झी लोकतन्त्रमा आस्था राख्ने सबैको चिह्न सम्झेर मतदान गर्न सबैमा आग्रह गरे ।

प्रतिनिधिसभा सदस्यका लागि कास्की क्षेत्र नम्बर ३ का काँग्रेसका उम्मेदवार शुक्रराज शर्मा र क्षेत्र नम्बर २ का उम्मेदवार देवराज चालिसे, समानुपातिकतर्फका उम्मेदवार एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीलगायतले लोकतन्त्रको रक्षाका लागि आसन्न निर्वाचनमा काँग्रेसको विजय आवश्यक भएको बताए ।