पु.समाचार

कांग्रेस र विप्लवको पार्टीलाई पुष्पकमलले लगाए कडा आरोप

चितवन । चितवन क्षेत्र नं. ३ मा बाम गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले रोल्पामा सो पार्टीका उम्मेद्वारमाथि भइरहेका हमला नेपाली काँग्रेसलाई सहयोग पुर्‍याउने नेत्रबिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको आरोप लगाएका छन्।

आफ्नो निर्वाचन क्षेत्र शिवनगरमा हालै मात्र भाडामा लिएको घरमा सोमबार बिहान चितवनका सञ्चारकर्मीहरुसँग कुरा गर्दा नेता दाहालले सो कुरा बताएका हुन्।

‘तिमीहरु आतंक मच्चाउ हामी चुनाबको प्रचारमा जान्छौं भनेर स्थानीय काँग्रेसले तालमेल गरेछन्। विप्लप (नेत्रबिक्रम चन्द) र काँग्रेसबीच तालमेल छ भन्ने हामीलाई पार्टीको तल्लो तहबाट रिपोर्ट पनि आइरहेको थियो। घटना क्रमले त्यही देखायो पनि’, दाहालले भने।

‘विप्लप’का केही मान्छेहरु हतियारसहित समातिँदा रोल्पाबाट मन्त्री भएका काँग्रेस नेता अमर पुनले वक्तव्य निकालेर उनीहरुलाई छाडिदेउ भनेका कारण तालमेल भएको प्रष्टै भएको दाहालले बताएभन्दै मंगलबारको नागरिकमा समाचार लेखिएको छ ।