अन्तर्राष्ट्रिय

राष्ट्रपति ट्रम्प मनिला पुगे, मनिलामा सोमबार एसियाली सम्मेलन शुरु हुँदै

मनिला । एसियाका पाँच देशको १२ दिने भ्रमणको अन्तिम पाइलाका रुपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार फिलिपिन्स पुगेको समाचार छ ।

उनी सोमबार बिहान मनिला पुग्दा फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले स्वागत गरेका थिए । राष्ट्रपति डुटेर्ते फिलिपिन्समा लागूऔषधको अवैध ओसारपसारसम्बन्धी कानूनमा विवादमा परेका छन् । उनले यस्ता काममा संलग्नलाई प्रहरीले सिधै गोली हान्नेसम्मको अधिकारी प्रहरीलाई दिने कानून ल्याएपछि अधिकारवादीहरुले यसलाई अधिनायकवादी कानून भनी विरोध गरिरहेका छन् । राष्ट्रपति ट्रम्प र एसियाका १८ देशका नेताहरु मनिलामा दुई दिनसम्म सञ्चालन हुने एसियाली सम्मेलनमा सहभागी हुनेछन्। सो सम्मेलनमा सहभागिताका लागि अन्य देशका नेताहरु पनि त्यहाँ पुगेका छन् ।

कतिपय अधिकारवादीहरुले राष्ट्रपति ट्रम्पले डुटेर्तेको सो कडा कानूनको विरोध गरिदिउन् भन्ने चाहन्छन् । उनीहरुले राष्ट्रपति ट्रम्पले अधिकारवादीका पक्षमा केही बोलिदिउन् भन्ने चाहना पनि राखेका छन् । यसैबीच प्राप्त अर्को एक समाचारअनुसार राजधानी मनिलामा कडा सुरक्षाकाबीच पनि राष्ट्रपति ट्रम्पका विरुद्धमा प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले राष्ट्रपति ट्रम्पका विरुद्धमा नाराबाजी गरेका थिए ।

दर्जनौँ प्रदर्शनकारीलाई फिलिपिन्स प्रहरीले पक्राउ गरेको छ । सो प्रदर्शनले आजै मनिला आइपुग्ने कतिपय देशका नेताहरुलाई पनि प्रभाव परेको बताइएको छ ।