राजनीति

विवेक प्रयोग गरी मतदान गर्न उपाध्यायको आग्रह

कपिलवस्तु । नेपाली काँग्रेसका प्रतिनिधिसभा क्षेत्र नं १ का उम्मेदवार दीपकुमार उपाध्यायले मुलुकमा निरंकुशता निम्तिन नदिन यसपटकको निर्वाचनमा नेपाली काँग्रेसलाई विजयी बनाउनुपर्ने बताएका छन् ।

चुनावी प्रचार अभियानका क्रममा निस्किका उम्मेदवार उपाध्यायले सञ्चारकर्मीसँग बोल्दै यसपटक मतदाताले विवेक प्रयोग गरी मतदान गर्ने विश्वास व्यक्त गरे । भारतका लागि नेपाली राजदूतका रुपमा रहँदा आफूले नेपाल–भारत सम्बन्ध विस्तार र मधेश आन्दोलनको व्यवस्थापनमा आफ्नोे अहम् भूमिका रहेको दाबी पनि गरे ।

नेता उपाध्यायले भने – “यो निर्वाचन फरक शैलीको हो । जनताले स्वतन्त्रता र विकास रोज्ने कि निरंकुशता रोज्ने भन्ने विषय अहिलेको मुद्दा हो ।”

सोही भेटघाटका क्रममा प्रतिनिधिसभा २ का काँग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यले विकास र समृद्धिको पक्षमा रहेका जनताले निरंकुशता लाद्न खोज्नेलाई जनताले चुनावमार्फत तह लगाइदिने बताए ।

यसैगरी, प्रतिनिधिसभा क्षेत्र नं ३ का काँग्रेसका अर्का उम्मेदवार अभिषेकप्रताप शाहले मधेशको अधिकारमा अवरोध गर्ने पार्टीलाई जनताले कुनै पनि हालतमा नपचाउने बताए ।