आर्थिक

उद्योगीलाई दैनिक पन्ध्र करोड नोक्सानी

पथरी, मोरङ । भारतको बथनाहास्थित मीरगञ्ज पुलबाट ठूला मालबाहक सवारी साधन आवतजावत हुन नसक्दा सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रका उद्योगीलाई दैनिक रु १५ करोड घाटा लागेको छ ।

गत साउन अन्तिम साता आएको बाढीका कारण मीरगञ्ज पुलमा समस्या आएपछि भारतीय पक्षले २० टनभन्दा बढी तौल भएका मालबाहक सवारीसाधनलाई सो पुलबाट आवतजावतमा रोक लगाएको छ ।

अहिले सुनसरी–मोरङ औद्यौगिक करिडोर क्षेत्रका उद्योगी व्यवसायीले ८० किलोमिटर घुमाउरो दूरी प्रयोग गरेर कच्चा पदार्थ र अन्य सामान आयात गर्न बाध्य भएको उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए ।

मीरगञ्ज पुल विराटनगर भन्सार कार्यालयबाट करिब पाँच किमीको दूरीमा पर्छ । तर सुनसरीको भान्टाबारी नाकाबाट ८० किमी घुमाउरो दूरी प्रयोग गर्दा ढुवानी खर्च बढ्नुका साथै उद्योगीलाई हैरानी भएको छ ।

“भान्टाबारी र रानी भन्सारमा पनि जाँच गरिन्छ, उद्योगीलाई दोहोरो दुःख भएको छ,” उनले भने ।

भान्टाबारी नाकाबाट सडक साँघुरो भएका कारण एकतर्फी मात्रै सवारीसाधन सञ्चालन हुने गरेको छ । “यस क्षेत्रका उद्योगीलाई दैनिक रु १४ करोडदेखि रु १५ करोडसम्म नोक्सानी भएको छ” अध्यक्ष उपाध्यायले भने । कलकत्ता बन्दरगाहमा सयौँं कन्टेनर रोकिएको उनले जानकारी दिए ।

उद्योगीले जोगबनी नाकाबाट सामान आयात गर्दा ढुवानी खर्च र झन्झट कम व्यहोर्नुपथ्र्यो । अध्यक्ष उपाध्याय उत्पादन लागत ह्वात्तै बढेको बताउनुहुन्छ । हाल प्रतिकिलो रु दुईभन्दा बढी लागत बढेको छ । कम लागतमा उत्पादित भारतीय र स्वदेशी वस्तुसँग प्रतिस्पर्धा गर्न निकै गाह्रो भएको उनको गुनासो छ ।

पुल सञ्चालन गर्नका लागि मोरङ व्यापार संघ, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १, उद्योग संगठन मोरङलगायतले सरकार र भारतीय पक्षको ध्यानाकर्षण गराउँदै आएका छन् ।