पर्यटन/संस्कृति

सडक महोत्सव पुसमा

पोखरा । ‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऔँ’ नाराका साथ रेस्टुरेन्ट एण्ड बार एशोसिएसन नेपाल (रेवान) पोखराले आगामी पुस १३ देखि १७ गतेसम्म सडक महोत्सव गर्ने भएको छ ।

पोखराको पर्यटकीय क्षेत्र लेकसाइडमा महोत्सव आयोजना गरिनेछ । अँग्रेजी नयाँ वर्षलाई धुमधामसँग मनाउने उद्देश्यका साथ आयोजना गरिने सो महोत्सवमा विभिन्न खानाका परिकार र विविध सांस्कृतिक कार्यक्रम गरिने संस्थाका अध्यक्ष चौबहादुर गुरुङले जानकारी दिए ।

पाँच दिनसम्म सञ्चालन हुने सो महोत्सवमा होटल तथा रेस्टुरेन्टले महोत्सव अवधिभर खाना सडकमै बनाउने र सडकबाटै पर्यटकलाई सेवा दिने बताइएको छ ।

महोत्सवमा श्रीलंका, कोरिया र जापानी टोलीले आ–आफ्नो देशको सांस्कृतिक प्रदर्शनी गर्ने छन् । महोत्सवमा राष्ट्रिय लोक दोहोरी, बाल उद्यान, खाना महोत्सव, पञ्चेबाजा, नेवारी, लाखे, गुरुङ, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारी तथा वेटर दौडलगायतका कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताए ।