राजनीति

उदयशमशेरमाथि नवराज सिलवालको आक्रमण, राणा भने मौन….!

काठमाण्डौ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिदै गर्दा मुलुकमा अधिकांश निर्वाचन क्षेत्रहरुको चुनावी प्रतिस्पर्धाहरु निकै कडा र रोमाञ्चक ढंगले भैरहेको छ । उपत्यकाका तीन जिल्लाका निर्वाचन क्षेत्रहरुदेखि तराई–मधेस र कर्णाली क्षेत्रमा समेत उस्तै कडा र रोमाञ्चक प्रतिस्पर्धा देखिदै गएको छ ।

यिनै प्रतिस्पर्धाहरुमध्ये ललितपुर क्षेत्र नम्बर १ को चुनावी चहलपहल र त्यहाँको वस्तुस्थिति पनि निकै रोमाञ्चक ढंगले अघि बढिरहेको देखिएको छ । ललितपुर–१ मा किन पनि चुनावी प्रतिस्पर्धा रोमाञ्चक बन्दै गइरहेको छ भने त्यहाँ प्रतिस्पर्धा गरिरहेका नेपाली कांग्रेसका उम्मेद्वार र वामगठबन्धनका उम्मेद्वार आफैमा युवा नेताहरु हुन् ।

कांग्रेसबाट अर्थराज्यमन्त्री समेत रहेका युवा नेता उदयशम्शेर राणा र वामगठबन्धनबाट भर्खरै प्रहरीको जागिर छाडेर एमाले प्रवेश गरेका नवराज सिलवालबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताहरुको राजनीतिक छबि समेत निकै राम्रो रहेकोले चुनावी प्रतिस्पर्धा रोचक हुने देखिदैछ ।
वास्तवमा उदयशम्शेर राणा राणा परिवारको पृष्ठूभमीबाट आएका नेता भएपनि नेपाली कांग्रेसमा स्थापित र भोलिको उदयीमान नेताको रुपमा अघि बढिरहेका छन् ।

वैचारिक रुपमा निकै तिखारिएका उनी पार्टी सभापति शेरबहादुर देउवा निकट भएपनि आफुलाई कांग्रेसभित्र सबै नेताहरुले समान व्यवहार गर्ने र आफुले पनि सबैलाई उत्तिक्कै सम्मानपूर्व हेर्ने गरेको बताउँछन् । ललितपुरका स्थायी बासिन्दा राणा विद्यार्थी र युवा संगठनबाट खारिएर पार्टी नेतृत्वमा पुगेका नेता हुन् । उनले ललितपुरबाट विजयी हासिल गर्ने कुरामा दुईमत नरहेको कांग्रेसका नेता कार्यकर्ताहरु बताउँछन् ।

सिलवाल राणामाथि खनिदै, राणा संयमित बन्दै !
यही बीचमा नेता राणाको प्रतिस्पर्धामा भर्खरै एमाले प्रवेश गरेका नवराज सिलवालले चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । सिलवाल त्यस्तो बेलामा नेता भएर चुनावी क्षेत्रमा उत्रिएका जुन समय उनलाई कांग्रेस नेतृत्वको सरकारले नै आफुमाथि अन्याय गरेर प्रहरी सेवाबाट हात धुनुपरेको उनले आरोप लगाइरहेका छन् ।

उनै सिलवालसँग कांग्रेसका युवा नेता राणाले प्रतस्पर्धा गर्नुपरिरहेको छ । पूर्व डिआइजी समेत रहेका सिलवाल आइजीपी काण्डमार्फत थप चर्चामा आएका थिए । केहीमहिना अघि भएको उक्त काण्डमा सिलवालले आफुमाथि अन्याय भएको आरोप लगाउँदै आएका छन् । त्यसकारण पनि उनी कांग्रेसविरुद्ध आक्रामक ढंगले प्रस्तुत भैरहेका छन् ।

उनले ललितपुर–१ का प्रत्येक चुनावीसभामा कांग्रेस उम्मेद्वार राणा र अन्य नेताहरुको चर्को आलोचना गर्दै आइरहेका छन् । शनिबार आयोजित एक चुनावी कार्यक्रममा त सिलवालले उदयशम्शेर राणाविरुद्ध राणाशासनकालको प्रसंग समेत जोड्न भ्याएका थिए । उनले अब राणाहरुका शासन गर्ने दिनसमेत गएको भन्दै चर्को आलोचना गरेका थिए ।

ललितपुरको गोदावरीमा आयोजित चुनावी सभामा बोल्दै सिलवालले मुलुकले १ सय ४ बर्ष राणा शासन ब्यहोरेको भन्दै ललितपुरका जनताका लागी ४ बर्ष अत्यन्तै पिडादयी भएको दाबी गरे । राणाले संसद कोषको रकमबारे अहिलेसम्म जनतालाई जानकारी नदिएको सिलवालको आरोप थियो ।

तर कांग्रेस उम्मेद्वार राणाले भने सिलवालकै शैलीमा आक्रमण गरिहालेका छैनन् । वाम गठबन्धनको चर्को आलोचना गरेपनि राणाले भने केही संयमता अप्नाइरहेको कांग्रेस नेता–कायर्कर्ताहरु बताउँछन् । सिलवालले लगाएको आरोपमा कुनै सत्यता नरहेको समेत उनीहरुको भनाई छ ।