स्वास्थ्य

आँखा शिविरबाट स्थानीयवासी लाभान्वित

रामपुर । आँखाको समस्याले लामो समयदेखि बिरामी पर्नुभएका ८१ वर्षीय चुरामणि खनाल गाउँमै आँखा परीक्षण गर्न पाउँदा निकै खुशी देखिउका छ । खनाल शारीरिक रुपमा अशक्त भएकाले आँखाको समस्याले रातदिन पिरोल्ने गथ्र्यो तर उपचार गर्न नजिकै अस्पताल नहुँदा उनी समस्यामा परेका थिए ।

सामुदायिक रेडियो रामपुर पाल्पाले शनिबार नवौँ वार्षिकउत्सवका अवसरमा दुर्गम र विकट मानिने तनहुँको घिरिङ गाउँपालिका–१ को भण्टारमा निःशुल्क आँखा शिविरबाट सेवा लिन पाउँदा उनी खुसी छन् । उनीजस्तै शिविरमा सेवा लिन आएका ७४ वर्षीय लीलाकुमारी श्रेष्ठ पनि आँखा परीक्षण गरेर निःशुल्क औषधि उपचार पाएपछि उत्साहित भएकी छन् । सोही ठाउँकै ६५ वर्षीय अन्तनारायण श्रेष्ठ यस गाउँमा पहिलो पटक आँखा शिविरमार्फत आँखा परीक्षण तथा औाषधि उपचार पाउँदा ठूलो राहत मिलेको बताउछिन् ।

“आँखा उपचारका लागि यहाँबाट आउनजान तीनरतीन घण्टाको पैदल हिँडेर रामपुर पुग्न समय लाग्छ, बूढेसकाल लागेपछि हिँड्न नसक्दा घरमै रोग पालेर बस्नुपर्ने बाध्यता छ”, उनले भनिन् । यसरी नै बेलाबेलामा शिविर सञ्चालन गरेर सेवा दिन उनले आग्रह गरिन् । कालीगण्डकी आँखा उपचार केन्द्र रामपुरको प्राविधि सहयोग, नमूना बालक्लब र भण्टार एकता समाजको व्यवस्थापनमा चलेको शिविरमा पाल्पा, स्याङ्जा र तनहुँका स्थानीयवासीले सेवा लिएका छन् । गाउँघरमै आँखा परीक्षण, औषधि उपचार सेवा पाउँदा यस क्षेत्रका स्थानीयवासीलाई ठूलो राहत मिलेको छ ।

शिविरमा २०९ जनाको आँखा परीक्षण गरिएकामध्ये नौ जनामा मोतियाविन्दु र एक जनामा मासु पलाएको बिरामी फेला परेको प्राविधिक सुन्दर रानाले बताए । शल्यक्रिया गर्नुपर्ने बिरामीलाई पचास प्रतिशत छुटमा कालीगण्डकी आँखा अस्पतालमा रिफर गरिएको छ ।