राजनीति

यसरी मन्त्रीहरुलाई पनि छोडेन निर्वाचन आयोगले

काठमाण्डौ । निर्वाचन आयोगको दैनिकी बनेको छ, आचारसंहिता उल्लंघनमा कुनै न कुनै सरकारी पद धारण गरेका व्यक्ति वा निकायलाई २४ घन्टे स्पष्टीकरण सोध्ने । तर, जवाफी पत्रमाथि आयोगले ‘के कस्तो कारबाही गर्छ’ भन्ने सार्वजनिक नहुने भएकाले निर्वाचनको ‘कर्मकाण्डी व्यवहारप्रति’ सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै जाँदा आचारसंहिता उल्लंघनका घटना पनि बढिरहेको प्रमुख निर्वाचन आयुक्त डा। अयोधीप्रसाद यादव नै स्विकार्छन् । ‘आचारसंहिता उल्लंघनका घटनाप्रति आयोग निकै संवेदनशील छ,’ प्रमुख आयुक्त यादव भन्छन्, ‘आचारसंहिता उल्लंघन रोक्न नागरिक तहबाटै विरोध हुनुपर्छ ।’

दर्जन बढी मन्त्रीसँग स्पष्टीकरण
सरकारी साधन–स्रोत दुरुपयोग गरेको, निर्वाचनलाई प्रभावित हुने गरी पार्टीका कार्यक्रममा सहभागी भएको, कर्मचारी सरुवा गरेको, मतदातालाई प्रलोभनमा पारेको भन्दै आयोगले दर्जन बढी मन्त्रीसँग स्पष्टीकरण सोधेको छ । तर, आयोगले स्पष्टीकरण सोधेर ‘कर्मकाण्ड’ मात्र पूरा गर्ने गरेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेको छ ।

लाचारी’ जवाफ
दुई साताअघि मात्र प्रमुख आयुक्त यादवले प्रधानमन्त्रीलाई आयोगले कारबाही गर्न सक्दैन भनेर ‘लाचारी’ जवाफ दिइसकेका छन् । ‘आचारसंहिता उल्लंघन भएको उजुरी प्राप्त हुनेबित्तिकै हामी स्पष्टीकरण सोध्छौं,’ आयोगका प्रवक्ता नवराज ढकाल भन्छन्, ‘आचारसंहिता पालना गर्ने चित्तबुझ्दो जवाफ आए त्यो प्रक्रिया अघि बढ्दैन । आचारसंहिता भनेको नैतिक प्रश्न पनि हो ।’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सन्दर्भमा आयोगले हालसम्म ४१ वटा स्पष्टीकरण सोधिसकेको छ । सबै घटनामा ‘चित्तबुझ्दो जवाफ’ आएकाले आयोगले थप कारबाही गरेन ।