आर्थिक

ट्रान्सफर्मर खरिद प्रकरणः विशेष अदालतविरुद्ध खनियो अख्तियार

काठमाण्डौ । विशेष अदालतले ‘आर्बिट्रेसन’ मार्फत ट्रान्सफर्मर प्रतिस्थापन गर्न दिएको आदेशलाई चुनौती दिँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानिबन अगाडि बढाएको भेटिएको छ ।

विशेष अदालतले चीनको हुबेई सनलाइट इलेक्ट्रिक कम्पनी लिमिटेडले आपूर्ति गरेको ट्रान्सफरमर मापदण्डविपरीत भएको भेटिएपछि तिनको आपूर्तिकर्ता ठेकेदार कम्पनीसित प्रतिस्थापन प्रक्रिया पूरा गरी जानकारी दिन आदेश गरेको थियो ।

सोमबारको अन्नपूर्णमा लेखिएको छ, उक्त आदेशपछि प्राधिकरणको ६७७ औं बैठकले ट्रिब्युनल गठन गरी प्रतिस्थापन प्रक्रिया अगाडि बढापछि अख्तियारले पुनः छानिबनका लागि भन्दै सञ्चालक समितिका सदस्यमध्ये तत्कालीन ऊर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीलाई बयानका लागि गत साता बोलाएको थियो ।

अख्तियारबाट उक्त ठेक्का सम्झौताअन्तर्गत खरिद प्रक्रियामा संलग्न कर्मचारी र ठेकेदारउपर विशेष अदालतमा दायर गरिएको मुद्दा विचाराधीन रहेको उक्त अदालतले ०७० असोज ३ गते ‘आपूर्तिकर्ताबाट करारको सर्तअनुसार ट्रान्सफरमर प्रतिस्थापन भएमा सो कार्य पूरा भएको जानकारी प्राप्त भएपछि प्रस्तुत आदेशउपर पुनर्विचार गर्न पेस गर्नू’ भनी आदेश दिएको थियो ।