पु.समाचार

सिएनएन हिरोबाट सम्मानित अनुराधा कोइराला कांग्रेसमा प्रवेश

काठमाडौँ । ‘सिएनएन हिरो’बाट सम्मानित समाजसेवी अनुराधा कोइराला नेपाली काँग्रेसमा प्रवेश गरेकी छिन्। आइतबार प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले कोइरालालाई बालुवाटारमा आयोजित एक कार्यक्रमकाबीच पार्टीमा स्वागत गरेका हुन् ।

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा राष्ट्रिय र अन्तर्राष्ट्रियरुपमा तीन दशकदेखि सक्रिय कोइरालाले मुलुकको आर्थिक वृद्धि र समृद्धि काँग्रेसबाट मात्रै सम्भव भएको बताउँदै पार्टी प्रवेश गरेकी हुन्।

“सबै समुदायको अधिकार स्थापित गर्दै मुलुकलाई आर्थिक र समृद्धिको बाटोमा लैजानसक्ने काँग्रेस मात्रै हो”– कोइरालाले पार्टी प्रवेश पछि भनिन्, “लोकतान्त्रिक छाताभित्र मात्रै सबैको अधिकार र विकास सम्भव छ।”

कोइरालाले लोकतन्त्रबाहेकको अरु कुनै पनि व्यवस्था नेपाली जनताले स्वीकार नगर्ने बताइन् । उनले लोकतन्त्रलाई थप मजबुत गराउन सबैलाई काँग्रेसमा मतदान गर्न पनि आह्वान गरेकी छिन् भन्दै सोमबारको नागरिकमा समाचार लेखिएको छ ।

“म सबैमा लोकतन्त्रलाई स्वीकार गरी सबै अटाउनसक्ने नीति बोकेको काँग्रेसलाई मतदान गर्न अपिल गर्दछु,” उनले भनिन् । सामाजिक क्षेत्रमा लामो समय योगदान गर्नुभएकी कोइराला अहिले काँग्रेसका पक्षमा मतदान गरेर महिला, दलित, जनजाती, मधेसीलगायत विभिन्न पिछडिएका क्षेत्रको अधिकार स्थापित गर्नुपर्ने बताउँछिन्।

“अब जनताले बुझ्नुपर्ने बेला आएको छ, सबैका अधिकार काँग्रेस नेतृत्वमा बन्ने सरकारले मात्रै दिलाउन सक्छ”– उनले भने, “त्यसैले संविधान कार्यान्वयनको चुनौतिपूर्ण अहिलेका अवस्थामा काँग्रेसका पक्षमा मतदान गरेर छ दशकदेखिको राजनीतिक संक्रमण अन्त्य गर्नुपर्छ।”