पु.समाचार

प्रमूख शाक्यले दिए विभागीय प्रमुखलाई यस्तो निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकका प्रमुख विद्यासुन्दर शाक्यले ढल व्यवस्थापन, हरियाली निर्माण, नियमविपरित राखिएका विज्ञापन तत्काल हटाउन विभागीय प्रमुखहरुलाई निर्देशन दिएका थिए ।

आज सञ्चारकर्मीसँग कामपाका केही स्थानमा गरिएको अवलोकनपछि प्रमुख शाक्यले सञ्चारकर्मीसँग कुरा गर्दै परम्परागतरुपमा हुने कामपाको सफाइ अभियानलाई अन्त्य गर्दै नागरिकले अनुभूति गर्ने गरी काम गर्न निर्देशन दिएका हुन् । उपप्रमुख हरिप्रभा श्रेष्ठ (खड्गी) सँगै शाक्यले आज सुन्धारा, न्युरोड, रत्नपार्क, जमलमा रहेको आइल्याण्ड निर्माणको अवलोकन गरेका थिए । कामपाका सहप्रवक्ता नवराज ढकालका अनुसार अहिले त्रिपुरेश्वर, सुन्धारा, न्युरोड रत्नपार्कलगायत स्थानमा सडक छेउछाउ र सडकको बीच भागमा रहेको खाली स्थान (आइल्याण्ड) मा हरियाली बनाउनका लागि रूखबिरुवा रोप्ने काम भइरहेको छ ।

“कालीमाटी, एयरपोर्ट आसपास स्थानमा भने मर्मतका काम भइरहेको छ”, सहप्रवक्ता ढकालले भने । कामपाले हाल तीस स्थानमा आइल्याण्ड निर्माणको काम गरिरहेको छ । प्रमुख शाक्यले एक हप्ताभित्र सक्नेगरी काम गर्न निर्देशन दिएकाले सोही अनुरुप काम भइरहेको वातावरण व्यस्थापन विभागका प्रमुख रवीन्द्रमान श्रेष्ठले जानकारी दिए ।

हप्ताभित्र सक्नेगरी महानगरका विभिन्न स्थानमा आइल्याण्ड निर्माणको काम तीव्रगतिमा शुरु गरेको छ । पहिलो चरणमा नयाँ निर्माण गर्ने काम गरिनेछ भने दोस्रो चरणमा निर्माण भइसकेको स्थानमा मर्मत गरिनेछ ।