राजनीति

राजनीतिक अस्थिरताको अन्त्य चाहन्छौँ : भुसाल

बुटवल । नेकपा (एमाले)का केन्द्रीय उपमहासचिव एवं रुपन्देही क्षेत्र नं ३ प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले राजनीतिक अस्थिरताले मुलुकलाई विकासको गतिमा अघि बढ्न नदिने देखेर नै वामपन्थी दलहरु एकजुट भएको बताए ।

एमाले र नेकपा (माओवादी केन्द्र) रुपन्देही क्षेत्र नं ३ सिद्धार्थनगरको संयुक्त प्रचारप्रसार कार्यालयको आज भैरहवामा उद्घाटन गर्दै नेता भुसालले भारतले गरेको अघोषित नाकाबन्दीका बेला बेलहियाका जनताले देखाएको साहस प्रशंसनीय रहेको बताए ।

उनले भने, “मुलुक र जनताले धेरै दुःख पाइसके तर, अब बन्ने वामपन्थी नेतृत्वको सरकारले जनताले पाएको दुःख अन्त्य गर्नेछ ।”

कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका जिल्ला सहसंयोजक एवं क्षेत्र नं ३ को प्रदेश (क) का उम्मेदवार विश्वास बराल (अनुप)ले विपक्षीले जनतामाझ विभिन्न खालका भ्रम छरेका र त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

त्यस्तै एमाले नेता एवं क्षेत्र नं ३ को प्रदेश (ख) का उम्मेदवार तुलसी चौधरीले बामपन्थीहरुले कहिल्यै पनि झुटको राजनीति नगरेको बताए ।