पर्यटन/संस्कृति

पाल्पाको मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै

पाल्पा । तानसेनस्थित शीतलपाटीमा रहेको राणकालीन मूल ढोका पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ ।

परम्परागत कला र कौशल प्रयोग गरी निर्माण गरिएको मूल ढोकाप्रति तानसेन घुम्न आउने पर्यटक आकर्षित हुन्छन् । तस्बिर खिच्नेको भीड लाग्ने यो ढोका सबैको लागि हेर्न लायक सम्पदा बनेको हो । आन्तरिक तथा बाह्य पर्यटकको चासोका साथ मूल ढोका अवलोकन र तस्बिर लिनकै लागि अहिले यहाँ निकै चहलपहल बढेको स्थानीय बासिन्दा तीर्थप्रसाद गौतमले बताउनुभयो । काष्ठकलाका भरपूर नमूना रहेको सो ढोका हेर्नका लागि दैनिक एक सयदेखि पाँच सयसम्म पर्यटक आउने गर्दछन् ।

यो मूल ढोका दक्षिण एसियाकै ठूलो काठकोे ढोका रहेको पाल्पालीको दाबी छ । तात्कालिन प्रधानमन्त्री जंगबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले तानसेनमा रहँदा विसं १९११ देखि १९३० मा मूल ढोका निर्माण गर्न लगाएको बताइन्छ । सुरक्षा नीतिअनुसार नै दरबार क्षेत्रमा ढोका बनाएको हुनसक्छ ।

अहिले सो ढोकाभित्र पाल्पा दरबार संग्रहालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला समन्वय समिति, अनुसन्धान कार्यालय र विद्युत् प्राधिकरण छन् । पुराना बस्तुको अवलोकन गर्ने परिपाटीको विकास भएकाले पाल्पाका रानीमहल, मूल ढोका, भैरवमन्दिर र करुवा अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढेको होटल व्यवसायी बताउछन् ।

ढोकाको संरक्षण वा पुनःनिर्माणमा ध्यान पुग्न नसक्दा जीर्ण भई भत्कनसक्ने खतरा छ । पाल्पामा ऐतिहासिक सम्पदा रहेपनि त्यसको संरक्षण हुननसक्दा पाल्पा ओझेलमा परेको होटल व्यवसायी जीवलाल सुवेदीले बताए । पर्यटकीय महत्वको ढोका संरक्षण गर्नुआवश्यक भएपनि खासै पहल हुननसकेको होटल उनको गुनासो थियो ।

विसं.२०६२ माघ १८ गने तत्कालीन माओवादीको पाल्पा दरबार आक्रमणमा मूल ढोकासमेत जलेको थियो । टालटुल गरेर निर्माण गरिएको मूलढोकालाई तानसेन गुठीले रंगरोगन गरेर ढोकाको ऐतिहासिक महत्वबारे जानकारी समेटिएको बोर्ड राखेका कारण यसको महत्व झनै बढेको हो ।