कृषि

स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ ….

तेह्रथुम । जिल्लाबाट वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ । परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ ।

विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ । तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन् । स्वदेश फर्किएपछि उनीहरुले घरैमा बसेर लाखौँ रुपैयाँ आम्दानी गरेका छन् ।

तिनै युवामध्ये एक हुन् थर गाउँपालिका–५, ओख्रका ३१ वर्षीय लिलम बुढाथोकी । मनग्य कमाउने सोचले अलिअलि भएको पैसा पनि म्यानपावरलाई बुझाएर कहिले कतार त कहिले मलेसिया पुगेका बुढाथोकीले छ वर्ष विदेशमा बिताए । पछि स्वदेशमै केही गर्ने सोचले फर्किए । अहिले उनले व्यावसायिक कुखुरापालनलाई आम्दानीको स्रोत बनाएका छन् ।

चार वर्षदेखि कुखुरा फार्म खोलेर व्यावसायिक बन्नुभएका बुढाथोकीले सात सयभन्दा बढी कुखुरा पालेका छन् । शुरुवातमा रु ५० हजारमा कुखुरापालन व्यवसाय शुरु गरेका उनले मासिक रु ३५ हजार बचत गर्छन । व्यवसायमा लगानी पनि बढ्दो छ ।

विसं २०५८ मा १० कक्षा उत्तीर्ण गरेपछि उनी प्राविधिक सीपकोे खोजीमा मोरङ झरे । उर्लाबारीमा ६ महिना बिजुली सम्बन्धि तालिम लिए ।

“परिवारबाट टाढा रहेर जति नै पैसा कमाए पनि मनमा शान्ति मिल्दैन,” उनले भने। गाउँ/गाउँमा फ्रेस हाउस खुलेपछि उनलाई बजारको कुनै समस्या छैन । ओख्रे बजारमा बुढाथोकीको आफ्नै फ्रेस हाउस समेत छ ।

अहिले फार्ममा रु पाँच लाखभन्दा बढी लगानी छ । त्यही व्यवसायबाट भएको आम्दानी बैंकमा रु तीन लाख बचत गरेका छन् । व्यवसायबाटै उनी ऋणमुक्त भएका छन् ।