राजनीति

वामसँग लोकतान्त्रिक गठबन्धनको प्रतिस्पर्धा

धादिङ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा राजनीतिक दल मतदाताको घरदैलोमा गएर मत माग्न व्यस्त छन् ।

प्रतिनिधिसभाका लागि २ र प्रदेशसभाका लागि ४ निर्वाचन क्षेत्र कायम गरिएको जिल्लाको क्षेत्र नं १ मा वाम गठबन्धनबाट (नेकपा एमाले)का जिल्ला अध्यक्ष भूमि त्रिपाठी र काँग्रेसका तर्फबाट युवा व्यवसायी विश्वप्रसाद अर्याल चुनावी प्रतिस्पर्धामा छन् । त्रिपाठी अधिवक्ता छन् भने अर्याल राजनीतिसँगै व्यापारिक छविबाट चर्चामा आएका हुन् ।

प्रदेशसभातर्फ क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट एमालेका पूर्वसांसद राजेन्द्रप्रसाद पाण्डे र लोकतान्त्रिक काँग्रेसबाट मुधकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । पाण्डे पूर्वमन्त्री एवं एमालेका पोलिटब्यूरो कमिटी सदस्य छन् । अर्याल राजनीतिकभन्दा पनि ठेक्कापट्टाकाकारण जिल्लावासीमा परिचित छन् ।

उक्त प्रदेशसभाअन्तर्गत धुनीबेसी नगरपालिका, थाक्रे र गल्छी गाउँपालिका तीनै स्थानीय तहमा गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए ।

यस्तै क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनका तर्फबाट (माओवादी केन्द्र)का जिल्ला अध्यक्ष शालिकराम जमरकट्टेल र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका प्रभातकिरण सुवेदीको उम्मेदवारी रहेको छ । जम्मरकट्टेल मजदुर नेताका रूपमा परिचित छन् भने सुवेदी माओवादी पृष्ठभूमिबाट हालै काँग्रेसमा प्रवेशगरेका हुन् ।

उक्त क्षेत्रको तीन गाउँपालिकामध्ये स्थानीय निर्वाचनमा एक गाउँपालिकामा माओवादी केन्द्र र दुई वटामा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । स्थानीय तहको निर्वाचनमा प्रतिनिधिसभा क्षेत्र नं १ बाट वाम गठबन्धनको ५९ हजार ८६८ मत देखिन्छ ।

यस्तै लोकतान्त्रिक गठबन्धनको १४ हजार ५६५ मत हुन आउँछ । स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दा १ को (क) मा वामगठबन्धनको ३२ हजार १८४ मत छ भने लोकतान्त्रिक गठबन्धनको नौ हजार ८०० मत छ । यो क्षेत्रमा वाम गठबन्धन लोकतान्त्रिक गठबन्धनभन्दा २२ हजार ३८४ मतले अगाडि छ ।

यसैगरी उक्त निर्वाचनमा क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनको २७ हजार ६८४ मत र लोकतान्त्रिक गठबन्धनकोे चार हजार ७१८ मत रहेको देखिन्छ

यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य खेम लोहनी र लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका कानून न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिन प्रतिस्पर्धी बनेका छन् ।

प्रदेश २ (क) मा एमालेका डा रामकुमार अधिकारी र काँग्रेसका जिल्ला अध्यक्ष रमेश धमला प्रतिस्पर्धी भएका छन् ।

स्थानीय चुनावमा यस क्षेत्रमा पर्ने नीलकण्ठ नगरपालिका र ज्वालामुखीमा काँग्रेसले जितेको थियो । यस्तै नेत्रावती गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो ।

प्रदेश २ (ख) मा माओवादी केन्द्रबाट जगत सिम्खडा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट डम्बर तामाङबीच प्रतिस्पर्धा छ ।

स्थानीय तहको मतपरिणमअनुसार प्रतिनिधिसभा २ को स्थानीय चुनावमा वाम गठबन्धनका उम्मेदवारले ३० हजार ९०२ मत र लोकतान्त्रिक गठबन्धनले ३४ हजार १५६ मत प्राप्त गरेको थियो । २ नं क्षेत्रमा वाम गठबन्धन र लोकतान्त्रिकबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । ज्वालामुखी गाउँपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको भए पनि उपाध्यक्षसहितको बहुमत सदस्य एमालेको पोल्टामा परेको थियो । नीलकण्ठ नगरपालिकामा माओवादी केन्द्रको उपप्रमुख विजयी भएकाले यो क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान छ ।

प्रदेश २ (क) क्षेत्रमा वाम गठबन्धनको १६ हजार ७६ मत र लोकतान्त्रिक गठबन्धनको २१ हजार ६३४ मत देखिन्छ । स्थानीय तहको निर्वाचनलाई हेरेर आँकलन गर्न नसकिने भएकाले आफूले नै विजय हासिल गर्ने एमाले उम्मेदवार डा रामकुमार अधिकारीले बताए ।

यसैगरी प्रदेशसभामा लोकतान्त्रिक गठबन्धन बलियो भएको क्षेत्र भएकाले विजय सुनिश्चित भएको नेपाली काँग्रेसका पूर्वसभापति रामनाथ अधिकारीको भनाइ छ ।

प्रदेश २ को (ख) मा वाम गठबन्धनको १४ हजार ८२६ मत हुन आउँछ भने भने लोकतान्त्रिक गठबन्धनको १२ हजार ५०३ मत देखिन्छ ।

गत वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा १३ स्थानीय तहमध्ये आठ वटामा एमाले, तीन वटा नेपाली काँग्रेस, एक वटामा माओवादी केन्द्र र एक वटामा राप्रपाका उम्मेदवार विजयी भएका थिए । गत स्थानीय निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी एकल चुनावी प्रतिस्पर्धामा थिए भने नेपाली काँग्रेस र माओवादी केन्द्रबीच अधिकांश स्थानीय तहमा तालमेल भएको थियो ।

पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा विभिन्न दलका उम्मेदवारले जिल्लाको एकै खालको विषयलाई आफ्नो नारा बनाएका छन् । पुनःनिर्माण र भूकम्प प्रभावितलाई सहयोग गर्ने, जलाशययुक्त बूढीगण्डकी परियोजना सञ्चालनमा छिटो मुआब्जा दिएर काम शुरु गराउने, जिल्लाभर सडक सञ्जाल बनाइ ठूला सडक निर्माणमा जोड दिने नारा ती उम्मेदवारका छन् ।

जमिनको वर्गीकरण गरी कृषि, वन, औद्योगिक, बजार क्षेत्र निर्धारणमा प्राथमिकता दिने, कृषि विकासका लागि व्यावसायिक क्षेत्रको विकास गर्ने, उद्योगको व्यवस्थापन गर्ने, पर्यटन विकासमा जोड दिई उत्तरी र दक्षिणी धादिङलाई पर्यटकीय क्षेत्र बनाउने नारा लिएर चुनावमा होमिएको ती उम्मेदवारले बताएका छन् ।

सडक निर्माण गर्ने, पर्यटकीय क्षेत्रको विकास गर्ने, कृषिको आधुनिकीकरण गर्ने, औद्योगिक क्षेत्रको विकास गर्ने योजना सहित आफू चुनावमा होमिएको र आफूले काम गरेर देखाउने काँग्रेसका उम्मेदवार दिलमान पाख्रिनले बताए ।

बूढीगण्डकी परियोजना छिटो निर्माण गर्ने, पर्यटकीय क्षेत्रको विकासमा लाग्ने, भूकम्पपीडितका लागि सहयोग गरी तत्काल कार्यक्रम सञ्चालन गर्ने, कृषि उत्पादनलाई जोड दिएर कार्यक्रम अघि बढाउने, शिक्षा र स्वास्थ्यमा पहुँच बढाउने र सडकले नछोएको उत्तरको गाउँमा कलोपत्रे सडक पुर्याउने लक्ष्यसहित चुनावमा लागेको एमालेका उम्मेदवार खेम लोहनीले बताए । सबै उम्मेदवार चुनावी अभियान लिएर गाउँगाउँमा पुगेका छन् ।