देश

यसरी हुँदैछ इलामलाई देशकै पहिलो सफा शहर बनाउने अभियान शुरु

इलाम । गत वर्ष सरसफाइमा देशकै दोस्रो सफा शहर बनेको इलामलाई अब पहिलो सफा शहर बनाउन पहल थालिएको छ । नेवा पुच भाषा संस्कृति समाज इलामले यहाँका विभिन्न स्थानको सरसफाइ अभियान शुरु गर्दै पहिलो सफा शहर बनाउने उद्घोष गरेको छ ।

प्लास्टिकजन्य उत्पादित फोहरलाई निश्चित स्थानमा विसर्जन गर्न तथा इलामको हरेक स्थान फोहरमुक्त बनाउन अभियान थालेको समाजका केदार श्रेष्ठले जानकारी दिए । कार्यक्रमअन्तर्गत मेची राजमार्गबाट इलामबजार छुट्टिने जिरो पोइन्ट, तिल्केनीमोड, सिंहवाहिनीमोडमा रहेका फोहरलाई व्यवस्थापन गरिएको समाजका किशोर श्रेष्ठले बताए ।

आगामी दिनमा इलाम सदरमुकामका हरेक क्षेत्रमा समाज पुगेर त्यहाँका स्थानीयवासीसँगै हातेमालो गरी अभियानलाई निरन्तरता दिइने समाजले लक्ष्य राखेको छ ।

शिक्षासेवीसहित ज्येष्ठ सदस्यलाई सम्मान

इलामका समाजसेवी तथा शिक्षासेवी ठाकुरप्रसाद शिवाकोटीलाई सम्मान गरिएको छ ।  छिमेकी बचत तथा ऋण सहकारी संस्थाको नवौँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनका क्रममा शनिबार शिवाकोटीलाई सम्मान गरिएको हो । शिवाकोटीसँगै संस्थाका ज्येष्ठ सदस्यका रुपमा गंगाप्रसाद गौतम, बुद्धिप्रसाद गौतम र नेत्रप्रसाद कडरियालाई सम्मान गरिएको हो ।

उनीहरुलाई दोसल्ला, खादासहित सम्मानपत्र प्रदान गरिएको थियो । त्यस्तै उत्कृष्ट बचतकर्ता, ऋणीलाई समेत सम्मान गरिएको बताइएको छ ।