शिक्षा

शिक्षामा लगानी बढाउनुपर्छः प्रधानमन्त्री

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले गुुणस्तरीय शिक्षाका लागि शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । ललितपुर खुमलटारमा शनिबार युलेन्स स्कुलले आइबिडिपी (इन्टरनेसनल ब्याक्कलरेट डिप्लोमा प्रोग्राम) कोर्स सञ्चालनका लागि नवनिर्माण गरेको भवनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रियस्तरको शिक्षा नेपालमा उपलब्ध गराएर युलेन्स स्कुलले खेलेको भूमिका महत्वपूर्ण भएको बताए ।

उक्त अवसरमा प्रधानमन्त्री देउवाले नेपाली शिक्षा जगत्मा पुर्याएको योगदानको कदर गर्दै प्रा डा सुरेशराज शर्मालाई सम्मान गरेका थिए । युलेन्सले नवनिर्मित भवनको नाम प्रा डा शर्माका नाममा राखेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा।स्वर्णीम वाग्लेले सामुदायिक विद्यालयमा भर्ना दर एकदमै राम्रो छ तर शिक्षामा गुणस्तर वृद्धि हुन सकिरहेको छैन, अब गुणस्तरमा ध्यान दिने र लगानी बढाउनुपर्ने समय आइसकेको बताए । युलेन्स स्कुल सञ्चालक समितिका अध्यक्ष डा.आरजु देउवाले विद्यालयले अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराउने सपना १० वर्षभित्रै पूरा गरेकामा खुशी व्यक्त गरिन् ।

युलेन्स फाउन्डेसनका संरक्षक बेल्जियमका समाजसेवी गाययुलेन्स र श्रीमती मरियम युलेन्सको पनि उपस्थिति थियो । संरक्षक गाययुलेन्सले नेपालमा कृषिसम्बन्धी शिक्षाको आवश्यकता रहेको भन्दै नेपालको शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा निकै खुसी लागेको अनुभव सुनाए ।