राजनीति

स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने : नेता नेपाल

काठमाडौँ । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले मुलुकका ठूला विकाससम्बन्धी परियोजनामा स्वदेशी पूँजी परिचालन गरी लगानी गर्नुपर्ने बताएका छन् ।

कागेश्वरी मनहरा नगरपालिका–८, गोठाटारमा संयुक्त वामगठबन्धनले आज आयोजना गरेको चुनावी कार्यक्रममा उनले त्यस किसिमको लगानीले स्वदेशमा उत्पादनको प्रतिफल प्राप्त हुने र स्वदेशी लाभान्वित हुने बताउँदै आफ्नो नेतृत्वको सरकारले स्वदेशी पूँजीबाट तामाकोशी परियोजना सञ्चालनको कार्य शुरु गरेको र त्यो अहिले ९८ प्रतिशत काम सम्पन्न भएको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले कागेश्वरी मनहरा, शंखरापुर र चाँगुनारायण नगरपालिकालाई जोडेर ठूलो शहर विकास गर्न सकिने आफ्नो योजना रहेको सुनाउँदै त्यस कार्यबाट करिब एक लाख रोजगारीको अवसर सिर्जना हुने जानकारी दिए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभाका उम्मेदवार समेत रहनुभएका नेता नेपालले जोरपाटीदेखि साँखुसम्मको सडक विस्तार र स्तरोन्नतिका लागि रु एक अर्ब ५४ करोडको ठेक्का भएको बताउँदै समयमै सो कार्य सम्पन्न गर्न आफूले भूूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।