राजनीति

‘विकास र समृद्धिका लागि काँग्रेसको जीत अपरिहार्य’बरिष्ठ – नेता पौडेल

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा विकास र समृद्धिका लागि नेपाली काँग्रेसको जीत अपरिहार्य रहेको बताएका छन् ।

काँग्रेस व्यास नगरपालिका–३ को प्रचारप्रसार कार्यालयको आज यहाँ उद्घाटन गर्दै नेता पौडेलले माओवादीलाई विस्तृत शान्ति सम्झौतामा ल्याउँदा र संविधान घोषणा गर्दा आफूले ठूलो भूमिका खेलेकाले यस पटक पनि जनताले आफूलाई नै चुनाव जिताउने जिकिर गरे । कृषि, पर्यटन र ऊर्जा शक्तिको विकास गर्न सके युवाहरू रोजगारीका लागि विदेशिन नपर्ने उनको भनाइ थियो ।

नेता पौडेलले आजै काँग्रेस व्यास नगरपालिका–१ र ४ को प्रचार समितिको कार्यालय उद्घाटन गरे । उनले भानु नगरपालिकाको नारेश्वरटारमा आयोजित आमसभालाई आजै सम्बोधन गर्दै गणतन्त्रलाई संस्थागत गर्न र संविधान कार्यन्वयन गर्न काँग्रेसलाई जिताउनुपर्ने बताए ।