राजनीति

यसरी कांग्रेस नेता कृष्ण सिटौलासँग पूरानो रिस पोख्दैछ राप्रपा ! यस्तो छ भित्री कारण

काठमाण्डौ । मंसिरमा हुने आसन्न निर्वाचनको समय नजिकिदै गर्दा मुलुकभरका सबै निर्वाचन क्षेत्रहरु राजनीतिक अभियानका क्रममा तातेका छन् । वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन र मधेसवादी दलहरुबीच अनौठा र रोमाञ्चक प्रतिस्पर्धा समेत हुँदैछ भने कतै–कतै वैचारिक रुपमै निकै ठुलो लडाई हुने देखिएको छ ।

यही सेरोफेरोमा झापा क्षेत्र नम्बर ३ मा यस्तै लडाई देखिएको छ । झापा क्षेत्र नम्बर ३ मा यसबेला नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्ण सिटौला प्रतिनिधिसभा सदस्यको उम्मेद्वार बनेका छन् तर त्यहाँ कुरा नमिल्दा आफ्नै पार्टीको गठबन्धनमा जोडिएको राप्रापाले समेत उनको समर्थनबाट हात झिेकेको छ र वाम गठबन्धनतिर हात लम्काएको छ ।

राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन पनि त्यहाँबाट उम्मेद्वार बनेका छन् । नेता सिटौला झापाबाट उठ्नुअघि कांग्रेसले लिङ्देनलाई नै समर्थन गर्ने निर्णय गरेको थियो तर एक्कासि सिटौला उम्मेद्वार बनेपछि राप्रपाले झापामा कांग्रेससँगको गठबन्धन तोडेको घोषणा गरिसकेको छ । अहिले नेता सिटौला र लिङ्देनले एकले अर्कालाई भोट कटाउने अभियाननै सुरु गरेका छन् ।

नेता सिटौलाले वाम गठबन्धनलाई २०६२/६३ सालको जनआन्दोलन दबाउने भूमिका खेल्ने राप्रपा र त्यसका नेताहरुलाई भोट नमाग्न आग्रह गर्दै आएका छन् । सिटौलाले २०६२/०६३ को जनआन्दोलनमा झापामा मारिएका शहिदहरुको नाम समेत लिँदै हत्याराहरुलाई मत नदिन आग्रह गरिरहेका हुन् । यद्यपि, झापामा अहिले वाम गठबन्धनसँग राप्रपाले चुनावी तालमेल गरिसकेको छ, मतपरिणाम कता बढी देखिन्छ, त्यो भने हेर्न बाँकी नैछ ।

वास्तवमा कांग्रेस नेता कृष्ण सिटौला उक्त क्षेत्रबाट उठ्नासाथ राप्रपा किन यति धेरै आक्रामक भएको होला ? केन्द्रीय नेतृत्वबीच लोकतान्त्रिक गठबन्धननै बनाएर कम्युनिष्टहरुको एकता प्रक्रियाविरुद्ध जेहाद छेड्ने तयारीमा रहेका ती दुई दलबीच यति सामान्य कुरामा किन मन नमिलेको होला ? यी प्रश्नको उत्तर खोज्न कांग्रेस नेता कृष्ण सिटौला, नेपाली कांग्रेस, राप्रपा र मुलुकबाट अस्ताइसकेको राजसंस्थाबीचको ऐतिहासिक सम्बन्ध र त्यसबेला देखि देखदै आएको कटुताले काम गरेको जानकारहरु बताउँछन् ।

यस्तो छ भित्री कारण !
वास्तवमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राजतन्त्र र त्यससँग जोडिएको वैचारिक दृष्टिकोणलाई मानेर जाने दल हो । समय र परिवेशअनुसार अहिलेको लोकतान्त्रिक राजनीतिक परिपाटीभित्र अटाउन सकिने भन्दै दलीय प्रतिस्पर्धामा आएपनि राप्रपा आफैमा राजसंस्था र त्यसको भक्त पार्टी हो ।

कांग्रेस नेता कृष्ण सिटौलाबारे राप्रपा अध्यक्ष कमल थापादेखि थुप्रै नेताहरुले २०६२/०६३ को जनआन्दोलनपछि निकै कडा आलोचना गर्दै आइरहेका छन्, किनभने दश वर्षे जनयुद्धमा रहेको तत्कालीन विद्रोही नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको आदेशलाई इमान्दारिताका साथ पालना गर्ने नेता हुन् सिटौला । उनले त्यसबेला मुलुकको शान्तिप्रक्रियालाई व्यवस्थापन गर्न निकै ठूलो भूमिका खेलेका थिए ।

माओवादी युद्ध र दोश्रो जनआन्दोलनका उपलब्धीहरुलाई व्यवस्थापन गर्ने प्रक्रियामा दरबारियाहरुले राजसंस्थालाई पनि स्पेस दिनुपर्ने भित्री प्रस्ताव राख्दा सिटौला लगायतका नेताहरुले अस्वीकार समेत गरेका थिए । त्यसपछि दरबार र त्यसको वरिपरि रहने राप्रपा लगायतका पार्टीहरुको आलोचनाको केन्द्रमा थिए सिटौला ।

मुलुक लोकतान्त्रिक प्रक्रिया अवतरण हुँदा नहुँदै कमल थापाले राप्रपा नेपालको नामको दल खोलेका थिए । उनले त्यो दलको माध्यामबाट नेपालमा राजतन्त्र फर्काउन सकिन्छ भन्ने बहस छेड्दै आएका थिए, जो अहिले राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएपछि पनि जारी छ ।

यद्यपि, दरबारियाहरुले आलोचना गर्ने नेताहरुमा सिटौलामात्र पर्दैनन्, कांग्रेसका अतिरिक्त थुप्रै कम्युनिष्ट नेताहरु पनि पर्ने गर्छन् । तर अहिलेको चुनावी प्रतिस्पर्धामा आमन्ने–सामन्ने भएका सिटौला र राप्रपाबीचको कलहचाहि सतहमै देखिएको हो ।