उर्जा

चिलिमेको साधारणसभा: १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर दिने तयारी

काठमाडौँ । चिलिमे जलविद्युत् कम्पनीले आफ्ना शेयरधनीलाई १० प्रतिशत नगद लाभाशं र १५ प्रतिशत बोनस शेयर दिने भएको छ ।
कम्पनीको शुक्रबार सम्पन्न २१ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेको हो । कम्पनीले कुल ६०० मेगावाट क्षमताको आयोजना निर्माण गरेर सञ्चालनमा ल्याएपछि शेयरधनीलाई शतप्रतिशत बोनस दिने हैसियतमा पुग्ने जनाइएको छ ।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवं कम्पनीका अध्यक्ष कुलमान घिसिङले जलविद्युत्मा कम्पनीले आगामी केही वर्षभित्र रु एक खर्ब ५० अर्ब बराबरको लगानी गर्ने बताए ।

कुल २२ मेगावाट क्षमताको आयोजना निर्माण शुरु गरेर अगाडि बढेको कम्पनीले हाल रसुवागढी, माथिल्लो साञ्जेन, साञ्जेन र मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ती आयोजनाको कुल क्षमता २७० मेगावाट छ । यस्तै कम्पनीले निकट भविष्यमा नै करिब ६०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने तयारी गरिरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् क्षेत्रमा चिलिमे कम्पनीले कमाएको इज्जतलाई सम्मान गर्दै अगाडि जान प्राधिकरण तयार रहेको बताए । उनले कम्पनीसँग भएका आयोजनामा मात्रै नभई प्राधिकरणका अन्य आयोजनामा समेत लगानी गर्ने वातावरण तयार हुने विश्वास व्यक्त गरे ।