राजनीति

जुम्लामा यस्तोछ उम्मेदवारको घरदैलो अभियान

जुम्ला । चुनावी प्रतिस्पर्धामा उत्रेका उम्मेदवारहरु यसपालि प्रचारप्रसारलाई भड्किलो बनाउने मुडमा छैनन् ।

यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा बजार, पाटीपौवा, धारा पँधेरा र चिया पसलमा चल्ने तर्क वितर्कका जुहारी कहीँकतै चलेको पाइँदैन ।

सर्वसाधारणको गुनासो सुन्न पाइन्छ, “आखिर जो कुर्सीमा पुगे पनि आफ्ना निश्चित कार्यकर्ता पाल्ने र जागिर खाने हुन्, हाम्रो वास्ता कसले गर्छ र ? ” तथापि तिनैबीचको राम्रो उम्मेदवारलाई मतदान गर्ने स्थानीय नन्दे सार्की बताउछन् । कर्णालीको साझा सवालमा ध्यान दिने, विगतको कामको योगदान र नेताको छविलाई बुझेर भोट हाल्नुपर्ने उनको भनाइ छ ।

यसपटक आफ्नो प्रदेश र क्षेत्रको चिन्तन गर्ने दूरगामी सोचको नेतृत्वलाई जिताउने सोच रहेको रत्नचन्द्र उपाध्याय बताउछन् । “ प्रदेशको नेतृत्व गर्न सक्ने योग्य र क्षमतावान उम्मेदवारलाई जिताउनै पर्छ”, उनले भने ।

कर्णालीका पुराना वाम नेता रामकृष्ण बुढ्थापा यसपालिको चुनाव विगत जस्तो तडकभडक नभएको बताउछन् । “मत किन्ने संस्कारमा कमी आएको छ”, उनले भने ।

वाम गठबन्धन चुनाव प्रचारप्रसार समितिका संयोजक शान्तिलाल महत यसपटकको चुनावी प्रचारप्रसार शान्त र भयरहित वातावरणमा चलिरहेको बताउछन् । निर्वाचन आयोगले धेरै कुरामा बन्देज लगाएको र दलहरुले पनि त्यसको पालना गरेकाले प्रचार अभियान भड्किलो नभएको उनले बताए ।

सदरमुकाममा नेमकिपाको प्रचार अभियानबाहेक दुवै गठबन्धनको त्यस्तो कुनै आमसभा भएको छैन । सबै उम्मेदवार हप्तौँदेखि मतदाताको घरदैलोमा भोट माग्ने चटोरोमै व्यस्त छन् । खासगरी प्रतिनिधि सभा सदस्यका उम्मेदवारको चुनावी दौडाहा चलिरहेको छ ।

वाम गठबन्धनका उम्मेदवार गजेन्द्रबहादुर महतले कार्यकर्ता साथमा लिएर घरदैलोमा पसेर अगुवा कार्यकर्ता भेटेर मत आफ्नो पक्षमा पार्ने रणनीतिलाई अघि सारेका छन् । लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार देवेन्द्र शाही वाम गठबन्धनको मत आफ्नो पक्षमा पार्न कसरतमा छन् ।

प्रदेश सभा ‘क’ मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार राजुसिंह कठायत काँग्रेसको योगदान र पारिवारिक पृष्ठभूमिले आफू जित्ने कुरामा विश्वस्त छन् । काँग्रेसकै प्रदेश सभा ‘ख’ का उम्मेदवार भीमनिधि हमाल सिंजा क्षेत्र काँग्रेसी अखडा र स्थानीय तहको चुनावमा चार गाउँपालिकामध्ये दुई गाउँपालिकामा जितेकाले जित सुनिश्चित भएको बताउछन् ।

वाम गठबन्धनका तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार नरेश भण्डारी प्रदेश नं ६ को सम्भावित मुख्यमन्त्रीको चर्चामा छन् । उनी वाम गठबन्धनका कारण आफ्नो जित सहज भएको बताउछन् ।

वाम गठबन्धनकै प्रदेश सभा ‘ख’ का उम्मेदवार पदम रोकाया २०७० सालमा दोस्रो संविधान सभाको चुनावमा चुन्न नपाएका जनताले अहिले आफूलाई निर्वाचित गर्ने बताउछन् ।

नेमकिपाकातर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार डिल्लीप्रसाद काफ्ले पनि विगतको संविधान सभा सदस्य र संसद्को भूमिकामा रहँदा कर्णालीका लागि गरेका कामबारे जनतालाई प्रस्ट्याउँदै मत माग्न थालेको बताउछन् ।

नेमकिपाका तर्फबाट प्रदेश सभा ‘क’ का उम्मेदवार शिवलाल डाँगी र प्रदेश सभा ‘ख’ का उम्मेदवार गोर्खबहादुर बुढाले आफ्नो पार्टीले समाजवादी व्यवस्थाका लागि वर्षौंदेखि लड्दै आएकाले जित सुनिश्चित भएको बताए ।