पु.समाचार

भूकम्पपीडितको बिजोग भएपनि नेताहरु मतमाग्न छाडेका छैनन्

सीताराम अधिकारी
मलेखु, धादिङ । रुबीभ्याली गाउँपालिकामा यतिखेर चुनावी रौनक छैन ।

भूकम्पबाट अति प्रभावित सो गाउँका स्थानीयले घर निर्माणमा लागिपरेका कारण त्यहाँ चुनावी रौनकले छोएको छैन । अर्को महिनासम्म घर बनाउनै पर्ने बाध्यताका कारण सिङ्गो गाउँ अहिले घर निर्माणमा लागिपरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिए पनि चुनाव प्रचारप्रसारका लागि दल र त्यसका नेता गाउँ छिर्न सकेका छैनन् । भूकम्पपीडितको घर निर्माण, बस्ती स्थानान्तरण र व्यवस्थापनमा कुनै चासो नदेखाएकाले उनीहरु गाउँ जानसकेका छैनन् ।

रुबीभ्याली गाउँपालिका–५ चपाङचेतका म्लाङ घले घर निर्माणमा व्यस्त छन् । पहिरोको उच्च जोखिममा रहेको हुँदा सो गाउँमा बस्न हुँदैन भनेर पुनःनिर्माण प्राधिकरणले भनेका थिए तर सम्बन्धीत निकायले बस्ती स्थानान्तरणमा चासो नदेखाएपछि बाध्य भएर उनीहरु त्यही गाउँमै घर बनाउन थालेका छन् ।

गाउँमाथिबाट पहिरो आइरहेको छ । गाउँ जाने बाटो भूकम्पले क्षति पु¥याएका थिए । पहिरोेका कारण अहिले पनि स्थानीय जोखिमपूर्ण तरिकाबाट चपाङचेत र छुम्राङ जानुपर्छ । घर निर्माणका लागि यो ठाउँ उपयुक्त नभएको भनेर पुनःनिर्माण प्राधिकरणले एकवर्ष अघि नै प्रतिवेदन दिएको थियो । तर त्यहाँ रहेका ५४ घरपरिवारले त्यही नयाँ घर बनाउन शुरु गरेका छन् ।

गाउँवासीले वैकल्पिक बस्ने व्यवस्थाका लागि जिल्लाका नेतासँग पटक÷पटक आग्रह गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई पनि पटक पटक भेट गरें तर समस्या समाधान हुन सकिएन् । पहिलो किस्ता लिएका लाभग्राहीले घर नबनाए रकम नदिने सूचना आएपछि अहिले उनीहरु चुनाव छाडेर जोखिम बस्तीमै घर निर्माणमा जुटेका छन् ।

स्थानीय सरकारले नै यो समस्याको समाधान गर्छ भनेर गाउँवासीले स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भएका थिए । तर गाउँपालिकाका अध्यक्ष काठमाडौंमा बस्ने र भूकम्पपीडितको समस्या समाधानमा चासो नदिएपछि आक्रोसित बनेका स्थानीयले यतिखेर घरनिर्माणमा व्यस्त भइरहेको स्थानीयवासी अमन तामाङले बताए ।

प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन आउनै लाग्दा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान चलाइरहेका छन् । भूकम्पपीडितको गाउँमा घरदैलो कार्यक्रममा जाने योजना बनाएका नेता गाउँवासी आक्रोसित भएको सूचना पाएपछि लोकतान्त्रिक र वाम गठबन्धनका नेता सो गाउँमा जानसकेका छैनन् ।

प्रतिनिधिसभाका लागि मंसिर १० गते हुने निर्वाचनमा धादिङको २ नं. क्षेत्रमा १७ उम्मेदवारले प्रतिस्पर्दा गर्दैछन् । वाम गठबन्धनबाट एमालेका केन्द्रीय सदस्य खेम लोहनी र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका महासमिति सदस्य दिलमान पाख्रिन प्रमुख प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।

संविधानसभा निर्वाचन २०७० मा यस क्षेत्रबाट एमालेले विजय हासिल गरेको थियो । स्थानीय तहको निर्वाचनमा पनि वाम गठबन्धनले मतका हिसाबले अगाडि देखिन्छ । काँग्रेसका उम्मेदवार पाख्रिन काँग्रेसका पुराना नेता दामन पाख्रिनका छोरा हुन । तामाङ समुदायको बाहुल्य रहेको यो क्षेत्र काँग्रेसले आफू बलियो भएको क्षेत्रको रुपमा लिएकाले विजय हासिल गर्ने जनाएको छ ।