राजनीति

कांग्रेस नेतृ डा.आरजु देउवाको क्षेत्रमा रोमाञ्चक प्रतिस्पर्धा हुँदै, देखियो यस्तो संकेत !

कैलाली । अगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा कैलालीमा रोमाञ्चाक र कडा प्रतिस्पर्धा हुने देखिएको । कैलालीको चुनाव किन पनि रोमाञ्चक र प्रतिस्पर्धात्मक देखिदैछ भने यो जिल्लामा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् कांग्रेस नेतृ डा.आरजु राणाले प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ उम्मेद्वारी दिएकी छन् ।

राणाले उम्मेद्वारी दिएको क्षेत्र नम्बर ५ मा मधेस–थरुहट आन्दोलनका क्रममा भएको हिंसाका आरोपी लक्ष्मण थारु प्रतिस्पर्धामा रहेको छन्, जो अहिले जेल जीवन विताइरहेका छन् । थारुले जेलबाटै उम्मेद्वारी दर्ता गराएका छन् । थारुले जेलबाटै उम्मेद्वारी दर्ता गराएर थारु समुदायको मत प्रभावित पार्ने कोसिस गरिरहेका बेला प्रधानमन्त्री पत्नी राणाले भने धनगढीमा करिब ३ करोड रुपैयाँको लगानीमा घर खरिद गर्ने तयारी गरिरहेकी छन् ।

पर्यटक उम्मेद्वार भन्दै स्थानीय राजनीतिक दल र सर्वसाधारणबाट आलोचना हुन थालेपछि डा.राणाले घर खरिदको प्रक्रिया थालेकी हुन् । खरिद गर्ने भनिएको घरमा राणा बस्न थालिसकेकी छन् । उनले आफ्ना कार्यकर्ता र सञ्चारकर्मीहरुलाई सोही घरमा भेटघाट गर्ने कार्यक्रम समेत तय गर्न सुरु गरिसकेकी छन् ।

यसरी कैलालीकै स्थानीय बासिन्दाको रुपमा स्थापित हुन सुरु गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएकी कांग्रेस नेतृ राणालाई राजपाबाट उम्मेद्वारी दिएका लक्ष्मण थारुले कत्तिको प्रतिस्पर्धा गर्न सक्छन्, त्यो भने हेर्न बाँकी नै छ ।

यसअघि फोरम लोकतान्त्रिकमा रहेका थारुलाई जेलमै रहेका बेला राजपाका नेता राजेन्द्र महताले जेलमै पुगेर पार्टी प्रवेश गराएका थिए । उनले थारु समुदायको मत प्रभावित पार्ने कोशिस गरेपनि सो क्षेत्र कांग्रेसको उर्वर क्षेत्रको रुपमा परिचित छ । त्यस्तै, राणासँग वाम गठबन्धनका उम्मेद्वार नारदमुनि रानाले पनि प्रतिस्पर्धा गर्दैछन् । वाम गठबन्धनको प्रभाव भने सो क्षेत्रमा निकै कम देखिन्छ ।

नेतृ राणाले अहिले चुनावको मुखमा त सो क्षेत्रमा राजनीतिक अभियानलाई तिव्र बनाएकी छन् नै तर यसअघि पनि कैलालीबाट राणाले उम्मेद्वारी दिने चर्चा चलेदेखिनै कांग्रेसले त्यहाँको राजनीतिक अभियान तिव्र बनाउँदै आएको थियो । त्यसैले पनि आरजुको जित सुनिश्चित भएको स्थानीय कांग्रेस कार्यकर्ताहरु बताउँछन् ।

कैलाली क्षेत्र नम्बर एकमा पनि निकै रोमाञ्चक प्रतिस्पर्धा हुने देखिएको छ । सो क्षेत्रबाट राजपाकै अर्का चर्चित र टिकापुर काण्डमा मुछिएका रेशम चौधरीले उम्मेद्वारी दिएका छन् । राजपाबाट उम्मेद्वारी दिएका उनी अहिले पनि भूमिगतजस्तै छन् । राज्यले भेटेमा उनलाई पक्राउ गर्न सक्छ भन्ने भयमा उनी अहिले पनि भूमिगतनै रहेका छन् । तर उनले भूमिगत अवस्थाबाटै प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेद्वारी दिएका छन् ।

उनको प्रतिस्पर्धामा एमालेबाट मदनकुमारी शाही र संघीय समाजवादी फोरमबाट भगवतराम थारुले प्रतिस्पर्धा गर्दैछन् । सञ्चार उद्यमीसमेत रहेका चौधरीमाथि टिकापुर हत्याकाण्डको आरोप लाग्दै आएको छ । यो आरोपलाई उनले इन्कार गर्दै आएका छन् । त्यस्तै सो जिल्लाका अन्य क्षेत्रमा पनि नेपाली कांग्रेस, वाम गठबन्धन र मधेसी दलहरुबीच कडा प्रतिस्पर्धा हुँदैछ ।