अन्तर्राष्ट्रिय

संयुक्त राष्ट्रसंघले दियो विश्वकै लागि एउटा खतरनाक चेतावनी

एजेन्सी ।  साउदी अरेबिया-नेतृत्वको सैन्य गठबन्धनले मानवीय सहायता सामाग्रीको आपूर्तिमा लगाइएको नाकाबन्दी नहटाए विश्वले दशकौं यता नदेखेको सबभन्दा ठूलो भोकमरी यमनले भोग्न सक्ने संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले चेतावनी दिएका छन्।

मानवीय सहायता सम्बन्धी संयुक्त राष्ट्रसंघको निकायका प्रमुख मार्क लोककले दशौं लाख मानिसहरु भोकमरीको जोखिममा रहेको बताएका छन्। बन्दसत्रको बैठकपछि संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले नाकाबन्दी अन्त्य गर्न माग गरेको छ।

साउदी अरेबियाको राजधानी रियादलाई निशाना बनाई हुथी विद्रोहीले क्षेप्यास्त्र प्रहार गरेपछि सोमबार साउदी नेतृत्वको गठबन्धनले, यमनको सबै स्थल, हवाई र सामुद्रिक सीमा नाका बन्द गरिदिएको थियो।

उक्त कदम आफ्नो प्रतिद्वन्द्वी इरानलाई हुथी विद्रोहीहरुलाई हातहतियार आपूर्ति गर्न दिनबाट रोक्नका लागि चालिएको साउदी अरेबियाले बताएको छ।

सन् २०१५ देखि साउदी नेतृत्वको गठबन्धनविरुद्ध लडिरहेका हुथी विद्रोहीहरुलाई आफूले हतियार उपलब्ध गराएको इरानले अस्वीकार गर्दै आएको छ।

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बन्दसत्र बैठकलाई यमनको अवस्थाबारे जानकारी गराएपछि पत्रकारहरुसँग कुरा गर्दै लोककले भने, “मैले सुरक्षा परिषद्लाई भनेको छु कि यमनको सीमा नाकाको अवरोध हटेन भने त्यहाँ भोकमरीको अवस्था निम्तिन्छ।” “त्यो विश्वले दशकौं यता भोगेको सबभन्दा ठूलो भोकमरी हुनेछ र दशौं लाख त्यसको चपेटामा पर्नेछन्।”