पु.समाचार

चिनियाँ अध्ययन टोलीले दियो सकारात्मक संकेत

काठमाण्डौ । नेपाललाई रेलमार्गबाट आफ्नो रेल सञ्जालमा जोड्ने विषयमा चिनियाँ अध्ययन टोली सकारात्मक देखिएको छ । लामो समयदेखि चर्चामा रहेको तर औपचारिक रूपमा प्रक्रियाले गति लिन नसकेको केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको स्थलगत अध्ययनमा आएको चिनियाँ टोलीले त्यस्तो सङ्केत गरेको हो।

मङ्गलबारदेखि बिहीवारसम्म प्रस्तावित रेलमार्गको स्थलगत अध्ययनमा टोली सक्रिय थियो । उक्त रेलमार्ग निर्माणको प्रक्रिया प्रारम्भिक छलफलकै क्रममा रहेका बेला चिनियाँ सरकारको रेलवे एडमिनिष्ट्रशनका उपप्रमुख जेङ जियनसहितको टोलीले स्थलगत सम्भाव्यता अध्ययन गरेको हो ।

रेलमार्ग निर्माणका विषयमा पहिलोपटक स्थलगत अध्ययन भएको रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायले जानकारी दिए । उनले भने, ‘मङ्गलवारदेखि चिनियाँ टोलीले काठमाडौंदेखि पोखरा हुँदै लुम्बिनीसम्मको रेलमार्गको सम्भाव्य स्थानको अवलोकन बिहीवार सम्पन्न गरेको छ ।’ उनले अध्ययनका क्रममा लगानी तथा रेलमार्ग निर्माणका लागि चिनियाँ टोली सकारात्मक देखिएको बताए ।

उनले तत्काल निर्माण गर्ने विषय यकिन नभए पनि स्थलगत अध्ययनका क्रममा चिनियाँ टोली उक्त रेलमार्ग निर्माणका विषयमा सकारात्मक देखिएको बताए । उनले भने, ‘चिनियाँ अध्ययन टोलीले रेलमार्ग निर्माणका विषयमा तत्काल केही भनेको छैन, अहिले गरेको स्थलगत सम्भाव्यता अध्ययनको रिपोर्ट चिनियाँ सरकारसमक्ष पेश गरेको केही समयपछि रेलमार्ग निर्माणका विषयमा आधिकारिक धारणा आउनेछ ।’

विभागका प्रवक्ता उपाध्यायले नेपालमा भने यतिबेला चुनावको मौसम भएकाले तत्काल यस विषयमा धारणा नआए पनि चुनावपछि यस विषयले प्रवेश पाउने बताए ।

रेल विभागका प्राविधिक टोलीसहित चिनियाँ टोलीले केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गलाई थप सहजता प्रदान गर्न सोही क्षेत्र आसपासमा पर्ने स्थानमा पनि वैकल्पिक मार्ग हुन सक्ने भन्दै स्थलगत अध्ययन गरेको प्रवक्ता उपाध्यायले बताए । उक्त रेलमार्ग निर्माणका लागि हाल तय गरिएको रूट पछि परिमार्जन हुन सक्ने पनि देखिएको छ ।

दुई देशको व्यापारिक तथा पर्यटकीय महत्त्वका कारण पनि नेपाल–चीनलाई रेलमार्गले जोड्न आवश्यक देखिएको छ । सरकारले प्रारम्भिक रूपमा तय गरेअनुसारको सम्भावित रूटमध्ये केरुङ—काठमाडौं करीब १ सय किलोमिटर र काठमाडौं—पोखरा १ सय ८७ किमीको अध्ययन गरेको छ । तर, पोखरा–लुम्बिनीको दूरीका साथै सम्भाव्यता अध्ययन पनि हुन नसकेको प्रवक्ता उपाध्यायले जानकारी दिए । रेलमार्ग निर्माणका लागि प्रारम्भिक चरणमै रहेका कारण उक्त रेलमार्गको निश्चित दूरी, लागतका विषयमा पनि यकिन हुन सकेको छैन ।
शुक्रबारको आर्थिक अभियानमा समाचार लेखिएको छ, नेपाल र चिनियाँ सरकारका अधिकारीहरूको भेटमा पनि यो रेलमार्ग निर्माणको विषयले प्राथमिकता पाउँदै आएको छ ।