पर्यटन/संस्कृति

बिमानस्थलका महाप्रबन्धक नै नक्कली अमेरिकी डलर कारोबारमा….

काठमाडौं । विदेश भ्रमणमा निस्किँदा सधैं विशिष्ट अतिथि (भिआइपी) ले प्रयोग गर्ने बाटोबाट जाने गरेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक (जिएम) देवानन्द उपाध्याय गत शनिबार अमेरिका जान सामान्य यात्रुकै बाटोमा लाम लागे ।

प्रहरीको विशेष टोली भने भिआइपी कक्षतिर उनको प्रतीक्षामा थियो । उनी भिआइपी बाटोको सट्टा सामान्य यात्रुको बाटोबाट गएको सूचना आएलगत्तै भिआइपी बाटोमा बसेको प्रहरी टोली सामान्य यात्रु जाने बाटोतिर मोडिए ।

प्रहरीले विमानस्थलका जिएम उपाध्यायलाई लामबाट निकाल्यो र उनको साथमा रहेको सुटकेस जाँच ग¥यो । उनले साथमा लिएर जान सम्बद्ध वायुसेवा कम्पनीको ‘चेक–इन काउन्टर’ मा दिएको लगेज प्रहरीको अर्को टोलीले जाँच ग¥यो । उनको लगेज र सुटकेसमा केही फेला नपरेपछि प्रहरीले उनलाई अमेरिका जाने बाटो खुला गरिदियो ।

उपाध्यायलाई विमानस्थलमा खटिएको प्रहरी टोलीको सट्टा विशेष टोलीले जाँच गर्नुको कारण थियो– उनी अवैध विदेशी मुद्रा ओसारपसारमा संलग्न रहेको भरपर्दो सूचना ।

सरकारी उच्च स्रोतका अनुसार गत वर्षदेखि नै उपाध्याय विदेशी मुद्राको अवैध ओसारपसारमा शंकाको घेरामा परेका थिए । तर, उच्चतहका अधिकारी भएका कारण प्रहरीले छड्के जाँच गर्न सकेको थिएन । सन् २०१६ डिसेम्बर १ देखि ६ सम्म श्रीलंकाको कोलम्बोमा आयोजना भएको ‘डाइरेक्टर जनरल अफ सिभिल एभिएसन कन्फरेन्स’ मा सहभागी हुन त्यहाँ पुगेका उनको साथबाट नक्कली अमेरिकी डलर फेला परेको थियो ।

‘उपाध्यायले आफू बसेको होटलमा बिल तिर्दा दिएको अमेरिकी डलर नक्कली भएको पुष्टि भएपछि होटल व्यवस्थापनले तत्काल प्रहरी बोलाएर उनलाई नियन्त्रणमा लिएको थियो,’ उच्च स्रोतले बुधबार नागरिकसँग भन्यो, ‘त्यसपछि उनलाई तत्काल श्रीलंकाबाट बाहिर नजान त्यहाँको प्रहरीले आदेश दिएको थियो । तर, उपाध्यायले श्रीलंकाली नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीलाई मनाएर बल्लबल्ल नेपाल फर्किएका थिए ।’

स्रोतका अनुसार जाँचका क्रममा उपाध्यायले श्रीलंकामै सटही गर्दा नक्कली डलर परेको दाबी गरेका थिए । त्यहाँबाट उम्किए पनि प्रहरी संगठनको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) मार्फत उक्त सूचना नेपाल प्रहरीसम्म आइपुगेको थियो । त्यही बेलादेखि नै उपाध्यायमाथि प्रहरीको नजर थियो । उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निगरानीमा पनि छन् ।

प्रहरीले विदेशी मुद्रा अवैध ओसारपसारमा उपाध्यायको संलग्नताबारे सूक्ष्म अनुसन्धान गर्दा विदेशी मुद्रा अवैध ओसारपसारमा सक्रिय केही व्यक्तिसँग उनको बाक्लो सम्पर्क देखेपछि प्रहरी प्रधान कार्यालयले उनको निगरानीमा विशेष टोली खटाएको थियो ।
गत शनिबार अमेरिका जान लागेको सूचनाका आधारमा उपाध्यायसँग विदेशी मुद्रा हुनसक्ने आशंकामा प्रहरी टोलीले आकस्मिक जाँच गरेको थियो । तर, प्रहरीले उनको साथबाट केही फेला पारेन ।

स्रोतका अनुसार उनी अमेरिका जाने तयारीकै क्रममा प्रहरीको विशेष टोलीले निगरानी राखिरहेको र भिआइपी जाने बाटोमा उनीहरू रहेको सूचना आएपछि उनले सामान्य यात्रुले प्रयोग गर्ने बाटो प्रयोग गरेका थिए । प्रहरीको तयारीबारे सूचना चुहिँदा उपाध्यायले वैधानिक रूपमा लैजान सकिने जति मात्रै पैसा साथमा बोकेको प्रहरी निष्कर्ष छ ।

‘प्रहरी टोलीले नियन्त्रणमा लिएर जाँच गर्नुअगाडि नै सूचना चुहिएका कारण सोचेजस्तो सफलता पाइएन,’ घटनाबारे जानकार उच्च स्रोतले भन्यो, ‘गोप्यता कायम भएको भए उपाध्याय अनुसन्धानको दायरामा तानिने सम्भावना थियो ।’

स्रोतका अनुसार त्रिभुवन विमानस्थलका जिएम उपाध्यायको सुसराली भारत हो । उनका छोरी र ज्वाइँ अमेरिकाको ‘ग्रिनकार्ड होल्डर’ हुन् । उनीहरू ओहायोमा बसोबास गर्छन् । उपाध्याय ओहायोमा ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’ (आएटा) ले आयोजना गरेको ‘अपांगता भएकालाई कसरी जहाज चढाउने’ भन्ने तालिममा सहभागी हुन गत शनिबार अमेरिका गएका थिए । यसखालको तालिम उनीजस्ता उच्च अधिकारीले लिने नभई सामान्य कर्मचारीले लिनुपर्ने भए पनि उनी आफैं गएका हुन् ।

उपाध्याय कतिसम्म ‘शक्तिशाली’ छन् भने शक्ति दलाल समूहमार्फत दबाब दिन लगाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देवले गत भदौ अन्तिम साता उनलाई नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक बनाउने तयारी गरेका थिए ।
प्राधिकरण नेपालको उड्डयन क्षेत्रको नियामक निकाय हो । त्यसबाहेक त्रिभुवन अन्तर्राष्ट्रियसहित देशभरका विमानस्थलको प्रमुख सञ्चालक निकाय पनि हो । प्राधिकरणमा महानिर्देशक सञ्जीव गौतमपछि उपमहानिर्देशक राजन पोखरेल वरिष्ठमा पर्छन् भने उपाध्याय तेस्रो वरीयतामा पर्छन् ।

सम्बद्ध उच्च स्रोतका अनुसार गौतमलाई हटाएर महानिर्देशक बन्ने दौडमा लागेका उपाध्यायले त्रिभुवन विमानस्थलमा रहेका ३५ पसल प्रत्येकबाट एकएक करोड रुपैयाँ उठाएर मन्त्री देव र उनको तत्कालीन पार्टी नेपाल लोकतान्त्रिक फोरमलाई चुनाव खर्चबापत ३५ करोड रुपैयाँ दिलाइदिने आश्वासन दिएका थिए ।

स्रोतका अनुसार प्राधिकरणले काम गर्न नसकेको भन्दै ठेक्का रद्द गरेको स्पेनी ठेकेदार कम्पनी ‘कन्स्ट्रक्टोरा सान्जोसे एसए’ को पक्षपोषण गर्दै आएका जिएम उपाध्यायको पर्यटन व्यवसायी आङछिरिङ शेर्पा र सान्जोसेको भारतस्थित एजेन्ट मनोज शर्मासँग ‘गहिरो सम्बन्ध’ छ ।
सान्जोसेलाई कारबाही गर्ने विषयमा पटकपटक प्राधिकरण मुख्यालयमा भएका बैठकमा उपाध्यायले जहिले पनि ‘यसमा प्राधिकरणको पनि गल्ती छ’ भन्दै सान्जोसेको वकालत गर्दै आएको स्रोतले जानकारी दियो ।
‘उपाध्यायलाई प्राधिकरण महानिर्देशक बनाएर सान्जोसेसँग चलिरहेको मुद्दामा नेपाललाई हराउने चलखेल भइरहेको थियो,’ स्रोतले भन्यो, ‘अन्तर्राष्ट्रिय प्रतिष्ठित अधिवक्ता नियुक्त नगर्ने, मुद्दा सुनुवाइमा उपस्थित नहुने, कमजोर पक्ष राखेर मुद्दा हराउने उद्देश्यले उपाध्यायलाई महानिर्देशक बनाउन लागिएको थियो तर अहिले यो विविध कारण रोकिएको छ ।’

स्रोतका अनुसार २०७० सालमा गौतम बुद्ध विमानस्थल प्रमुख हुँदा उपाध्यायले जग्गा अधिग्रहण गर्दा सार्वजनिक खरिद नियमावलीविपरीत सोझै एजेन्सीमार्फत सूचना प्रकाशन गराएको, विभिन्न मर्मतको काम गराउँदा टुक्रा पारी एकै वर्ष छुट्टाछुट्टै लागत अनुमान गराई निवेदनका आधारमा काम गराएको, एयर कन्डिसन तथा कम्प्युटर खरिद गर्दा स्पेसिफिकेसन र लागत अनुमान तयार नगरी मालसामान खरिद गरेको लगायत काममा अनियमितता गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठहर गरेको थियो ।

त्यसपछि अख्तियारले २०७० फागुन ६ गते उपाध्यायलाई कारबाही गर्न उड्डयन प्राधिकरणलाई निर्देशन दिएको थियो । अख्तियारको निर्देशनपछि प्राधिकरणले उपाध्यायलाई स्पष्टीकरण सोधेको थियो । उनले २०७० फागुन ३० गते स्पष्टीकरण बुझाएका थिए । उनको स्पष्टीकरण सन्तोषजनक नभएको र उनले गरेको अनुचित कार्य अख्तियारबाट किटान भइसकेको भन्दै प्राधिकरणले उनलाई विभागीय कारबाही किन नगर्ने भन्दै पुनः सोधेको थियो ।

त्यसपछि उपाध्यायले चैत ७ गते फेरि स्पष्टीकरण बुझाएका थिए । प्राधिकरणले उपाध्यायलाई कारबाही गर्नुको सट्टा सामान्य नसिहतमात्र दिएको थियो । नागिरकबाट