पु.समाचार

चेपाङको गुनासो : न उम्मेदवार आए, न भोट हाल्न सिकाए

मलेखु, धादिङ । पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् ।

यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ । दुवै दलका कार्यकर्ता हरेक दिन नाचगान गर्दै मत मागिरहेका छन् । तर सडकमाथि रहेको चेपाङ बस्ती भने सुनसान छ ।

स्थानीय तह निर्वाचनमा मतदान गर्न अघिल्लो दिन नै मतदान केन्द्र आएका चेपाङ अहिले कोही भोट माग्न कोही नआएको बताउँछन् । दक्षिणी धादिङको ब्रुसबाङमा ३६ घर चेपाङ समुदायको बस्ती छ ।

पृथ्वीराजमार्गको मलेखुबाट ९ घण्टाको यात्रापछि पुगिने उक्त गाउँ महाभारत पर्वतको डाँडामा पर्छ । चितवन सीमा क्षेत्रमा पर्ने ब्रुसबाङ अभावै अभावले ग्रस्त गाउँ हो । गाउँका धनी भनिएका टेकबहादुर चेपाङको घरमा आफ्नो बारीको उत्पादनले तीन महिना मात्र खान पुग्छ ।

“खानेकुरा नभएपछि सिस्नु र टाँकीको मुन्टाको भरमा जीवन चलाउनु परेको छ,” स्थानीयवासी सूर्यमाया चेपाङले भने ।

गाउँमा सिस्नुको बोट हुने र टाँकीको बोट हुने धनी मानिन्छ । खानेपानी दुई घण्टा टाढा गएर ल्याउनुपर्ने हुन्छ । एक पटक पनि स्वास्थ्य संस्था नगईकन सुत्केरी हुने महिलाको सङ्ख्या अत्यधिक छ । गाउँबाट पाँच घण्टा टाढा स्वास्थ्यचौकी रहेको छ ।

“स्वास्थ्य चौकी होइन झाँक्रीकहाँ गएर झारफुक गर्नुपर्ने बाध्यता छ,” स्थानीयवासी टेकबहादुर चेपाङले भने । चुनाव नजिकिँदै गर्दा पनि ब्रुसबाङवासीलाई चुनावबारे जानकारी नभएको उनी बताउछन् ।

“चुनाव आयो भन्ने खबर रेडियोमा सुनियो । कस्तो चुनाव रु भोट हाल्न सिकाएका छैनन् । भोट माग्न समेत नेताहरु आका छैनन् । कसलाई भोटदिने भन्ने निक्र्योल भा छैन”, गाउँका अगुवा चेपाङले भने– “गाउँमा न उम्मेदवार आए रु न भोट हाल्न सिकाए ।”