राजनीति

चुनावसम्मका लागिमात्र वाम गठबन्धन  : काँग्रेस नेता बडू

दार्चुला । नेपाली काँग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावपछि वाम गठबन्धन समाप्त हुने बताएका छन् ।

नेपाली काँग्रेस दार्चुलाद्वारा सदरमुकाम खलंगामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य बडूले एमाले र माओवादी मिलेर बनेको वाम गठबन्धनको कुनै नाम नभएको भन्दै उनले चुनावपछि गठबन्धन बिलाएर जाने ठोकुवा गरे ।

“वामपन्थीको षडयन्त्र देखेर नेपाली जनता सशंकित भएका छन्,” उनले भने । देशलाई अस्थिरतातर्फ लग्ने षड्यन्त्र भइरहेकाले उनको भनाइ थियो । संविधानको पूर्ण रुपमा कार्यान्वयन र रक्षाका लागि काँग्रेसलाई मतदान गर्नुपर्ने नेता बडूले बताए ।

“लोकतन्त्रको रक्षाका लागि कांग्रेसको जीत आवश्यक छ,” उनले भने । कम्युनिष्ट अधिनायकवाद लाद्ने उद्देश्यका साथ एमाले र माओवादी केन्द्रबीच वाम गठबन्धन भएको उनले आरोप लगाए । संविधानसभाबाट जारी भएको संविधानलाई कुल्चने मनसायका साथ वाम गठबन्धन बनेको नेता बडूको भनाइ थियो । “कांग्रेस हार्दा जिल्लाको विकासमा बाधा पुग्छ, त्यसैले अबको चुनावमा कांग्रेस जित्छ,” उनले भने ।

आमसभालाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार विक्रमसिंह धामीले जिल्लाको समग्र विकासका लागि आफूले उम्मेदवारी दिएको बताए । उनले महाकाली र चौलानी नदीलाई राष्ट्रिय तीर्थस्थल बनाइने बताए ।

प्रदेश सभा ‘क’ का उम्मेदवार मदन गिरीले वाम गठबन्धनप्रति जनताको विश्वास गुमेकाले आफूलगायत काँग्रेसका सम्पूर्ण उम्मेदवारले जित्ने बताए ।