समाचार

चार हजार ५४२ घर परिवारको पुनःनिर्माण सम्झौता

चितवन । जिल्लामा रहेका सात हजार ३४३ भूकम्प प्रभावित घरमध्ये चार हजार ५४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ ।

गुनासो व्यवस्थापनसम्बन्धी यहाँ आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार दुई हजार ७९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ ।

जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए । यहाँ रहेका भूकम्प प्रभावितमध्ये ५९३ जनाले मर्मतका लागि निवेदन दिएको उनले बताए ।
जिल्लामा अहिले घर निर्माणको काम सकिएको भन्दै पूरै रकम भुक्तानीका लागि ५०० जनाको निवेदन परेको छ । प्राधिकरणले प्राविधिक पठाउन ढिलाइ गरेसँगै घर निर्माणको काम शुरु गर्न नसकिएको कार्कीले बताए । चालू आवमा ८० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ सचिवालयले काम अगाडि बढाएको भए पनि सम्झौताको काम नसकिनुले समस्या देखिएको छ ।

सरकारले जारी गरेको निर्देशिकाअनुसार कात्तिक मसान्तसम्म सम्झौता गर्नुपर्ने हुन्छ । योसँगै चालू आवभित्र घर निर्माणको काम पनि सक्नु पर्ने हुन्छ । सो कार्यक्रममा प्राधिकरणका सहसचिव नेत्रप्रसाद सुवेदीले आधार र प्रमाणबिना कसैले पनि गुनासो गर्न नपाइने बताए । गुनासो सुनुवाइ एकाइ वडा तहमा नै रहेकाले वडास्तरबाटै गुनासोको समाधान गर्न सके प्रभावकारी हुने उनले बताए । प्राधिकरणमा बढी मात्रामा भूकम्पपीडितको गुनासो सम्बन्धित जिल्लामा घर नबनाई अन्यत्र जिल्लामा घर बनाउन पाउने÷नपाउने र न्यून ब्याजमा रकम निकासीको मात्रै आउने गरेको उनले उल्लेख गरे ।