राजनीति

विराटनगरलाई प्रादेशिक राजधानी बनाइने : मन्त्री मण्डल

विराटनगर । बिना विभागीयमन्त्री शिवकुमार मण्डलले मुलुकमा शान्ति, समृद्धि र संविधान कार्यान्वयनका लागि वाम गठबन्धन भएको बताएका छन् ।

प्रेस चौतारी र प्रेस सेन्टर मोरङको संयुक्त आयोजनामा आज विराटनगरमा आयोजित अन्तर संवाद कार्यक्रममा उनले दुई तिहाइ बहुमत पुर्याएर मधेशी, आदिवासी जनजातिको माग पूरा गर्न संविधान संशोधन गर्ने स्पष्ट पारे ।

मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधि सभा उम्मेदवारसमेत भएका मन्त्री मण्डलले कृषिमा आधुनिकीकरण, हुलाकी राजमार्गसँग जोडिएका सडकमा कालोपत्रलगायत निर्माण कार्यका साथै जीर्ण अवस्थामा रहेको विराटनगर जुटमिललाई पुनः सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरे ।

प्रादेशिक राजधानी विराटनगर हुनुपर्ने उल्लेख गर्दै उनले यस क्षेत्रका सुकुम्वासी समस्या समाधानका लागि जनता आवास कार्यक्रम सञ्चालन गरिने पनि बताए ।

सो अवसरमा वाम गठबन्धनका तर्फबाट क्षेत्र नं ५ का प्रदेश ‘क’का उम्मेदवार ज्ञानेश्वर राजवंशी र प्रदेश ‘ख’का उम्मेदवार शुभान मियाँले विराटनगरलाई राजधानी बनाउन पहल गर्नाका साथै नदी नियन्त्रण, कृषि क्षेत्रमा सुधार, सडक निर्माण र राजा विराट दरबार लगायतका धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने बताए ।

प्रेस चौतारी मोरङका अध्यक्ष रामचन्द्र अधिकारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।